ताजा समाचार


नेपाल यो वर्षदेखि सिमेन्टमा आत्मनिर्भर

 नेपाल बाहक    १८ माघ २०७५, शुक्रबार ०३:३०     893 जनाले पढ़िसके

माघ १८ , काठमान्डौ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोबार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् । निजी क्षेत्र प्रवेश भएको झण्डै १६ वर्षको अन्तरालमा शून्यबाट आत्मनिर्भरमा पुगेको बताउँदै नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुवराज थापाले अर्को वर्षदेखि नेपाल सिमेन्ट निर्यात गर्ने अवस्थामा पुग्ने उल्लेख गर्नुभयो । “अन्य उद्योगको तुलनामा सिमेन्टमा फरक किसिमले छिटो उत्पादन बढेको छ, यो नेपाल कै लागि गौरव हो, अब सरकारले उद्योगमा देखिएका समस्या समाधानमा पहल गर्नुपर्ने देखिन्छ”, थापाले भन्नुभयो । सन् १८४५ देखि सिमेन्ट उत्पादन सुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन सुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ । नेपालमा पहिलो हिमाल सिमेन्टले उत्पादन शुरु गरेको थियो । निजी क्षेत्रबाट भने १६ वर्ष पहिलादेखि मात्रै लगानी थालिएको हो । नेपालमा अहिले ५६ वटा सिमेन्ट उद्योगले उत्पादन गर्दै आएका छन् । हाल उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सरकारले सञ्चालन गर्दै आएको छ ।