ताजा समाचार


रामेछाप सिभिल भलिबल च्याम्पियनसिप हुँदै

 नेपाल बाहक    १८ माघ २०७५, शुक्रबार १३:२६     1585 जनाले पढ़िसके

माघ १८ , रामेछाप । रामेछाप जिल्ला आगामी मंगलबारदेखि शनिबार सम्म भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । रामेछाप जिल्ला खेलकुद विकास समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सिभिल भलिवल च्याम्पियनसिपको चौथो संस्करण यही हुने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि आयोजकले जनाएको छ । प्रतियोगितामा सात प्रदेश र अन्य पाँच टोली गरी १२ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सात प्रदेश बाहेक शान्तिदीप युवा क्लब, मन्थली युनाइटेड युवा समाज, लोकतान्त्रिक खेलकुद संघ, नमुनादीप युवा क्लब र प्याराडाइज युथ क्लबको सहभागिता रहने छ । प्रतियोगितामा प्रथम हुने टोलीले तीन लाख, दोस्रो हुने टोलीले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो हुने टोलीले ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्बोत्कृष्ट घोषित हुने एक खेलाडीले १५ हजार र बिधागततर्फ उत्कृष्ट ठहरीने सर्भर, स्पाइकर, ब्लकर, रक्षक, सेटर र प्रशिक्षकले पनि जनही १० हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा बिभागीय टोलीले सहभागिता जनाउन पाउने छैन, बिभागीय टोलीका खेलाडीले अन्य टोलीबाट भने खेल्न पाउने छन् । यद्यपि, एउटा टोलीमा बिभागीय टोलीबाट तीनजना भन्दा बढी खेलाडीले खेल्न पाउने छैन । सहभागी कुनै पनि टोलीले विदेशी वा बिभागीय टोलीका खेलाडी अनुबन्ध गर्दा चौथो आरबीबी९एनभिए राष्ट्रिय पुरुष भलिवल च्याम्पियनसिप खेलेकोमध्ये चार खेलाडीलाई मात्रै सहभागी गराउन पाउने छन् ।