ताजा समाचार


दाङमा अबैध हतियार बनाउने कारखाना फेला पर्यो

 नेपाल बाहक    २० माघ २०७५, आईतवार १३:२२     1367 जनाले पढ़िसके

माघ २० गते आइतबार । दाङको राजपुर गाउपालिका ७ मा अबैध हतियार बनाउने कारखान फेला परेको छ ।आइतबार लामो समयदेखि हतियार बनाएर बिक्री गर्दै आएका ५९ वर्षीय जीतबहादुर बुढालाई ठूलो मात्रामा तयारी बन्दुक र हतियार बनाउने सामग्रीसहित दाङ प्रहरीले पक्राउ गरेको छ । कारखानाबाट ५ भरुवा बन्दुक, एक बाह्रबोर राइफल, तीन एयरगन, एक कटुवा पेस्तोल, एक रिभल्बर, २९ वटा ठूलो हतियारको नाल र १२ वटा सानो हतियारको नाल बरामद भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । कारखानामा बनाएका बन्दुक नेपाल र भारतका विभिन्न ठाउँमा बिक्री गर्ने गरेको थाहा भएको उनले जानकारी दिए। कतिपय बन्दुक बनाएर विक्री गर्ने र कतिपय समान ल्याएपछि एक बन्दुकको ५ हजार रुपैयाँ ज्याला लिएर बनाइदिने गरेको बुढाले बताएका छन्। यसैगरी भौवा नाकाकै ३८ वर्षीय रुद्रमणि घर्ती एक थान बन्दुकसहित पक्राउ परेका छन्। उनले पनि बुढाबाटै बन्दुक किनेको बताएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए।उनीहरूविरुद्ध मुलुकी अपराधसंहिता ऐन २०७४ को दफा १२९ बमोजिम हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको उनले जानकारी दिए।