रामेछाप, फागुन २० गते । लेख बहादुर वि.क.
रामेछाप नगरपालिकामा नगरस्तरीय मेलमिलापकर्ताहरुको लागि १ दिवसीय अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । न्यायिक समिति रामेछाप नगरपालिकाद्वारा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा जिल्ला अदालत रामेछापका न्यायधिश माधवेन्द्र रेग्मीको प्रमुख आतिथ्यतामा भएको थियो । रामेछाप नगरपालिकाका उपप्रमुख एवम न्यायिक समितिका संयोजक सृजना खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका ९ वटै वडाका सामुदायिक मेलमिलापकर्ता र न्यायिक समितिका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मेलमिलाप गराउँदाका अनुभव ,समस्या र चुनौतीहरुका साथै न्याय निरुपणमा सहजता ल्याउनको लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको उपप्रमुख खड्काले जानकारी दिइन् । कार्यक्रममा सामुदायिक मेलमिलाप केन्द्र र न्यायीक समितीले मिलाउन पाउने र नपाउने विवादका साथै मेलमिलाप सम्बन्धि विविध विषयहरुमा छलफल गरिएको थियो । कार्यक्रममा बोल्दै जिल्ला अदालत रामेछापका न्यायधिश माधवेन्द्र रेग्मीले अदालतमा पनि मेलमिलाप केन्द्र रहेको बताउँदै अदालतले पनि मेलमिलाप कार्यलाई प्राथमिकता दिएको बताए ।