रामेछाप । फागुन २३ गते
रामेछापको लिखु तामाकोसी गाउँपालिकाको धोवीमा सञ्चालन भएको २ दिने एकिकृत घुम्ति शिविरमा २ सय ७७ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरि ३ सय १७ जनाले फोटो हितको मतदाता परिचय पत्रको लागि नाम दर्ता गराएका छन् । शिविरमा २१ वटा उद्योग दर्ता र २१ वटा वाणिज्य दर्ताको लागि शिफारिस प्रदान गरिएको छ ।
शिविरमा लिखु तामाकोसी गाउँपालिका वडा नं १,२,३,४ र ५ का सेवाग्राहीहरुको बाक्लो भिड लागेको थियो । नागरिकहरुले सिंहदरवारको अधिकार गाउँमा गएको प्रत्यक्ष अनुभुत गर्न पाउन भनि गाउँपालिकामा शिविर आयोजना गरिएको गाउँपालिका अध्यक्ष गोविन्द खड्काले बताए । शिविसमा नागरिकता वितरण, मतदाता परिचयपत्रको लागि फोटो खिचाउने तथा घरेलुको शिफारिस दिने काम समेत भएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराईले बताए । शिविरमा वडा कार्यालयहरुले व्यक्तिगत घटना दर्ता तथा विभिन्न शिफारिस लगायतका सेवा समेत प्रदान गरेका थिए ।