ताजा समाचार


अन्तराष्ट्रिय श्रमिक महिला दिवस रामेछापमा पनि विविध कार्यक्रमका गरि मनाइयो

 नेपाल बाहक    २४ फाल्गुन २०७५, शुक्रबार ०७:४४     631 जनाले पढ़िसके

फागुन २४ ,रामेछाप । अन्तराष्ट्रिय श्रमिक महिला दिवस रामेछाप जिल्ला भरि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । १०९ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा जिल्लाका २ वटा नगरपालिका तथा ६ वटै गाउँपालिकाले र्याली, प्रवचन तथा विभिन्न सास्कृतिक कार्यक्रम समेत आयोजना गरेका छन् । दिवसको अबसरमा मन्थली नगरपालिकाले शुक्रबार बिहान सदरमुकाम मन्थली बजारमा र्याली तथा प्रवचन कार्यक्रमको आयोजना गर्यो । मन्थलीको विपिचोकबाट निस्किएको र्याली मन्थली बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो ।
मन्थली नगरपालिकाकी उपप्रमुख मायाँ कार्कीका अध्यक्षतामा भएको प्रवचन कार्यक्रम नगर प्रमुख रमेश वस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विभिन्न विद्यालयका छात्राहरु लगायतले महिला दिवसको महत्व र आवश्यकताको बारेमा बोलेका थिए ।
यसैगरी लिखु तामाकोसी गाउँपालिकाको वडा नं ६ खिम्तिमा गाउँपालिकाको आयोजना तथा उषाकिरण महिला कृषि सहकारी संस्थाको समन्यमा र्याली प्रवचन तथा लोक दोहोरी प्रतियोगिता सम्पन्न भएको छ ।
खम्ति बजार परिक्रमा गरि आयोजना गरिएको प्रवचन कार्यक्रममा मानवअधिकारकर्मी नवराज पथिकले अन्तराष्ट्रिय श्रमिक महिला दविस र नेपालका महिला विषय कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा वडाअध्यक्ष शिव न्योपाने लगायतले बोलेका थिए ।
सोही अवबरमा आयोजित लोकगित प्रतियोगितामा विजयी महिला समुहहरुलाई नगद पुरस्कार समेत वितरण गरिएको थियो ।