चैत १ , दोलखा । विगु गाउँपालिका –१ मा बस दुर्घटना हुँदा घाइते भएका ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको छ । दुर्घटनाका घाइतेहरु कञ्चनपुरको कञ्चनपुर नगरपालिका वडा नम्बर २ का २० वर्षीया देवसिंह चौधरी, लमजुङ जिल्लाका २५ वर्षीया सुरज लामा, सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ बस्ने ४३ वर्षीया प्रेम आचार्य, बर्दियाको ठाकुरद्धारा नगरपालिका १ बस्ने २३ वर्षीया दिनेश सुनार र दोलखाको कालिञ्चोक गाउँपालिका ९ बस्ने सवारी चालक २२ वर्षीया सुदीप शिवाकोटीलाई प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको हो । माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण कम्पनी सिनो हाइड्रो कम्पनीको कामदार बोकेको बा ४ ख ४५ ७३ नम्बरको बस बिगु गाउँपालिका–१, नयाँबाटोमा दुर्घटना हुँदा सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङ्गी गाउँपालिका–३ का हीराप्रसाद मिजारको ज्यान गएको छ । अन्य घाइतेको सामुदायिक अस्पताल चरिकोट, प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट, सामुदायिक अस्पताल सिंगटीमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिनुभयो ।