र्चत ४ , रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका ६ माकादुमको स्थानीय सभा बैठक सोमाबार सम्पन्न भएको छ । वडाअध्यक्ष पुष्कर कार्कीको अध्यक्षतमा भएको बैठकमा वडाका वस्ति स्तरमा भएका कामको अवस्था र अब गर्नु पर्ने कामको बारेमा छलफल भएको थियो ।
कार्यक्रममा स्थानीय सभाका सदस्य तथा टोल सुधार समितिका संयोजकहरुले आआफ्ना टोलामा भएका काम, त्यसको प्रगति र गुणस्तरको अवस्थाको बारेमा जानकारी गराएका थिए । त्यसैगरि कृषि, शिक्षा तथा स्वास्थ्य समितिका पदाधिकारीहरुले सो क्षेत्रका काम र अहिले देखिएका समस्याको बारेमा जानकारी गराएका थिए ।
वडा कार्यालयको समन्वय र युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाजः पारस्पारिक जवाफदहीता परियोजनाको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा हुराडेकका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले स्थानीय सभा बैठक राख्नुको उद्देश्यको बारेमा जानकारी दिएका थिए ।
स्थानीय सभाका सदस्यहरुले कृषिका कार्यक्रमलाई उपलब्धि देखिने गरि सञ्चालन गर्न, विवाद देखिएका योजनाहरुमा छलफल चलाई छिटो काम अघि बढाउन, शिक्षकको दर्वन्दि मिलान गर्दा विद्यार्थी संख्यालाई ध्यान दिन, नयाँ शैक्षिक सत्रको लागि बेलैमा पाठ्यपुस्तकहरु विद्यालयमा पुर्याउने व्यवस्था मिलाउन वडा कार्यालयलाई सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष पुष्कर कार्कीले प्राप्त सुझावका आधारमा वडा कार्यालय अघि बढ्ने बताए । उनले गाउँमा सबै घरमा पुग्ने गरी बिजुली आएको, स्वास्थ्य चौकीमा प्रसुती केन्द्र निर्माणको काम अघि बढेको, खानेपानी र सडकलाई व्यवस्थित गर्ने गरी योजना बनाएर अघि बढेको बताएका थिए । कार्यक्रममा टोल सुधार समितिका संयोजकहरु, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।