गत बैशाख २० गतेदेखि प्रदर्शनमा आएको सिनेमा दाल भात तरकारीले तेस्रो सातामा पनि दर्शकको साथ पाईरहेको छ । तेस्रो सातामा प्रदर्शन भईरहँदा सिनेमाले काठमाण्डौका क्यु एफएक्समा ३ शो र सिंगल थियटरमा १० शो पाईरहेको छ ।
त्यस्तै सिनेमाले काठमाण्डौ बाहिर पनि दिनमा ६ शो पाईरहेको छ । यसरी हिसाब गर्दा सिनेमाले दिनमा अझै पनि १७ शो पाईरहेको सिनेमाका प्रस्तुतकर्ता किरण केसीले बताए । तेस्रो सातासम्म आईपुग्दा सिनेमाले ६ करोड २५ लाख भन्दा माथिको कारोबार गरिसकेको छ ।
झण्डै ३ करोडको लगानीमा बनेको सिनेमाले लगानी भने प्रदर्शन अगावै उठाईसकेको थियो । प्रदर्शनबाट आएको रकम भने पूर्णरुपमा नाफा हो । सिनेमालाई अस्ट्रेलिया र युरोपमा मात्रै ६० लाखमा विक्रि गरिएको थियो । यस्तै अब अमेरिका, लण्डन, जापान, कोरिया लगायतका देशमा सिनेमा प्रदर्शन गर्ने तयारी निर्माण पक्षको छ ।
सिनेमाको समिक्षा नराम्रो आएका कारण कारोबारमा १० प्रतिशत असर परेको र माउथ पब्लिसिटीले सिनेमाको कारोबारमा १५ प्रतिशत असर गरेको किरणले बताएका छन् ।
उनले सबैको कुरालाई मध्यनजर गर्दै आफूहरुले पनि आफ्नो सिनेमामा केही कमजोरी भएको महसुस गरेको उल्लेख गरे । उनले अबको प्रोजेक्टमा यी सबै कुरालाई मध्यनजर गर्दै राम्रो सिनेमा बनाउने कोशिश रहने पनि बताएका छन् ।
अबको प्रोजेक्ट पनि मह सञ्चारको ब्यानरमै बन्ने उल्लेख गर्दै उनले निर्देशकको प्रसंगमा भने, ‘छोराको विवाह गर्ने बेला भएको छ । यतिबेला हामी बुहारीको खोजीमा छौँ । त्यो बुहारी काली पनि हुन सक्छ । गोरी, जनजाती, डल्ली, होची जस्तो पनि हुन सक्छ तर मन मिल्नु पर्छ ।’
दाल भात तरकारीलाई उनका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।
अन्त्यमा उनले दाल भात तरकारी कसैलाई नुन चर्को लाग्यो, कसैले भात गिलो भएको महसुस गर्नुभयो, कसैलाई काँचो लाग्यो भन्दै अबका दिनहरुम यी सबै कमजोरीलाई स्वीकार्दै समिक्षकहरुको समिक्षालाई पनि मध्यनजर गर्दै अघि बढ्ने बताए ।