ताजा समाचार


रामेछापका स्थानीय सरकारका नीति तथा कार्यक्रम सार्वजनिक : कृषि र पर्यटन प्राथमिकतामा

 नेपाल बाहक    १० असार २०७६, मंगलवार ११:२३     936 जनाले पढ़िसके

नवराज पथिक
१० असार, रामेछाप । रामेछापका स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको प्रस्तावित नीति, कार्यक्रम तथा अनुमानित बजेट सार्वजनिक गरेका छन् । जिल्लाका एक नगरपालिका र ६ वटा गाउँपालिकाले कृषि, पशुपालन तथा पर्यटनलाई पहिलो प्राथमिकतामा राखि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रम सार्वजनिक गर्न असार १० गतेसम्मको समय सिमा पाएका स्थानीय सरकार मध्ये मन्थली नगरपालिकाको कार्यपालिका सदस्य र प्रमुख कार्यकारी अधिकृत बिचको बिबादको कारण निर्धारित समयमा नीति तथा कार्यक्रम आउन सकेन ।
मंगलबार प्रस्तावित नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको खाँडादेवी गाउँपालिकाले ६१ करोड २६ लाख ११ हजार रुपैयाँको अनुमानित बजेट ल्याएका छ । सो गाउँपालिकाले सार्वजनीक गरेको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा कृषि र पुशपञ्छि परेको छ ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ्ले गाउँसभामा प्रस्तुत गरेको कार्यक्रमको दोस्रो प्राथमिकतामा पर्यटन परेको छ भने त्यस पछि क्रमशः शिक्षा,स्वास्थ्य र सफाई, खानेपानी लगायतका कार्यक्रमहरु परेका छन् ।
यसैगरि रामेछाप नगरपालिकाले कृषि र खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको रामेछाप नगरपालिका प्रमुख नरबहादुर मगरले जानकारी दिए ।
रामेछाप नगरपालिका सुख्खाग्रस्त भएकोले कृषि पछि खानेपानीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको नगरप्रमुख मगरले बताए ।
उता रामेछापको सबैभन्दा उत्तरी क्षेत्रमा रहेको उमाकुण्ड र त्यो संगै जोडिएको गोकुलगंगा गाउँपालिकाले पनि कृषि र पर्यटनलाई नै प्राथमिकतामा राखि नीति कार्यक्रम ल्याएका छन् । जलश्रोतको पनि धनी गाउँपालिका भएकाले जलश्रोत र जडीबुटीलाई पनि प्राथमिकतामा राखि कार्यक्रम ल्याइएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग सुनुवारले बताए ।
पर्यटन र कृषि विकासको मूल आधार भएकोले त्यसमै आधारित नीति कार्यक्रम ल्याएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार बताउँछन् । त्यस पछि शिक्षा, स्वास्थ्य, खानेपानी पूर्वाधार पनि त्यतिकै प्राथमिकतामा रहेको उनले बताए ।
जिल्लाका पश्चििमी भागका दोरम्बा र सुनापति गाउँपालिकाले पनि कृषि र पर्यटनलाई नै प्राथमिकतामा राखेर निती तथा कार्यक्रम ल्याएका छन् । यस बाहेक शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार निर्माण अन्य प्राथमिकताका क्षेत्रको रुपमा रहेका छन् । कृषि क्षेत्रको विकास र व्यवसायीकी करण पहिलो प्राथमिकतमा रहेको दोरम्बा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिए ।
लिखु तामाकोसी गाउँपालिको पनि प्रमुख क्षेत्र कृषि नै रहेको छ । त्यस पछि पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, जलस्रोत लगायतका क्षेत्र प्राथमिकतामा परेका छन् ।