रामेछाप ९ साउन
रामेछापको साँघुटार बजारमा बिहिबार भएको आगलागि पीडित परिवारलाई जिल्ला विपद व्यवस्थापन समिति रामेछापले घटना स्थलमै पुगेर नगद सहित विभिन्न राहात समाग्री प्रदान गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिति रामेछापकी संयोजक एवं रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेको नेतृत्वमा गएको टोलीले आगलागिबाट घरवार विहिन भएका ४ घरपरिवारलाई प्रतिपरिवार १० हजारका दरले नगद र नेपाल रेडक्रस सोशाइटी रामेछापले उपलब्ध गराएको घरयासी सामाग्री प्रदान गरेको हो ।
आगलागीमा परी पुर्णरुपमा घर नष्ट भएका राजन सुवेदी , अंकित श्रेष्ठ ,अमिस मगर र हरिमाया मगरलाई जिल्ला विपद व्यवस्थापन समितिले नगद रु दश हजार रुपौयाका दरले आर्थिक सहयोग गरेको हो । त्यसैगरी जलेर नष्ट भएको घरमा कोठा भाडामा बसेका रविन खत्री , राजन दाहाल र हिरा श्रेष्ठलाई तत्काल आवश्क पर्ने घरयासी सामाग्री प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापले जनाएको छ । आगलागी पीडितहरुलाई नेकपाका केन्द्रीय सदस्य एवं नेकपा रामेछापका इन्चार्ज देवशंकर पौडेल, नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ , नेपाली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्की र नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ लगाएले रेडक्रसले उपलब्ध गराएको राहात सामाग्री प्रदान गरेका थिए ।
रामेछाप नगरपालिका–३ साँघुटार बजारमा बिहिबार बिहान ८ बजेबाट करिव ३ घण्टासम्म भएको आगलागिबाट एउटा पक्की सहित चार घर जलेर नष्ट भएको थियो । आगो स्थानीयको लामो प्रयाशपछि बिहान ११ः३० बजे नियन्त्रणमा लिएका थिए । साँघुटार बजार रामेछाप जिल्लाकै पुरानो बजार हो । रामेछापबाट ओखलढुँगा प्रवेश गर्ने मुख्य नाकाको रुपमा सो बजार रहेको छ । झुरुप्प घरहरु रहेको सो बजारमा यस अघि पनि बारम्बार आगलागिका घटनाहरु भएका छन् ।