रामेछाप , ११ भदौ । रामेछाप जिल्लाका सामाजिक संस्थाहरुले गएको आर्थिक वर्षमा सम्पन्न गरेका कार्यक्रमको बजेट सार्वजनिक तथा राय संकलन सम्बन्धि साझा सभा कार्यक्रम बुधबार मन्थलीमा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापको आयोजनामा कार्यक्रम भएको हो । युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र हुराडेक नेपाल दोलखाको सहजिकरणमा सञ्चालित नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजना र गैरसरकारी संस्था महासंघ रामेछाप समेतको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा रामेछाप जिल्लाका वार्षिक ५० लाख रुपैयाँ भन्दा बढिको विकास निर्माणका काम गर्ने संस्थाहरुले खर्च सार्वजनिक गरि राय समेत संकलन गरेका थिए ।
कार्यक्रममा तामाकोसी सेवा समिति, सामुदायीक विकास समाज, सामुदायीक जनशक्ति विकास कार्यक्रम, सृजनशिल युवा समाज, पहाडी समाज कल्याण केन्द्र र चारघरे सेवा समितिले आर्थिक वर्ष ०७५⁄७६ मा सञ्चालन गरेका कार्यक्रम र खर्च सार्वजनिक गरेका थिए ।
कार्यक्रममा बोल्दै पूर्व सांसद देवशंकर पौडेलले समय सान्दर्भिक विकासका काम गर्न सामाजिक संस्थाहरुलाई आग्रह गरे । उनले गाउँको जग्गा बाँझिदै जानु र रक्सिका वोतलहरुले गाउँ ढाक्दै जानु खतरनाक भएको बताए । विकासको लागि सबैको साझेदारी आवश्यक रहेको पनि उनले बताए ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी पाण्डेले सरकार गैससहरुलाई संधै स्वागत गर्न तयार रहेको बताइन् । उनले विश्वमा १ करोड भन्दा बढि सामाजिक संस्था तथा ४० हजार भन्दा बढी अन्तराष्ट्रि गैरसरकारी संस्था क्रियाशिल रहेका र तिनले ८० प्रतिशत सकारात्मक कुरा सञ्चार गर्न सफल भएको भन्दै रामेछापमा पनि गैससबाट राम्रा कामको अभ्यासन भएको बताइन् । उनले सुशासन र पारदर्शिता कायम गर्न खर्च सार्वजनिकिकरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गरिन् ।
कार्यक्रममा नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्की लगायतले गैससलाई अझ पारदर्शिभई राजनीतिक पुर्वाग्रह नराखि काम गर्न आग्रह गरे । सहभागिहरुले डुब्लिकेसन नहुने गरि काम गर्न पनि गैससलाई आग्रह गरे । गैसस महासंघ रामेछापका अध्यक्ष भुवन श्रेष्ठले गैससहरु सबैभन्दा पारदर्शी रहेको बताउँदै प्राप्त सुझावको आधारमा अझ पारदर्शीता कायम गरि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।