रामेछाप ३० भदौ ।
रामेछापको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने बारे सोमबार छलफल भएको छ । रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसीको अध्यक्षता र पुर्व सांसद देवशंकर पौडेलको अध्यक्षतामा सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफल ट्राफिक व्यवस्थापनलाई अझ कडाई र प्रभावकारी बनाउन सरोकारवाला संग छलफल भएको हो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर भित्रिकोटीले रामेछाप जिल्लाको ट्राफिक व्यवस्थापनलाई मजवुद बनाउँनका लागि आवश्यक तत्काल गर्नुपर्ने कामका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै पुर्व सांसद देवशंकर पौडेलले नेपालीहरुको महान चाड दशै तथा तिहार नजिकिएसंगै यात्रुहरुको चाप बढ्दै गएकाले यसलाई मध्यनजर गरी सम्बन्धीत सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । उनले दशैमा गाउँगाउँमा समेत यातायातको साधनको चाप हुने भएकाले जिल्लाका सबै स्थानीयतहहरुले बाटो मर्मत गरी नागरिकको यात्रा सहज लाग्नुपर्ने बताए । जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जिल्लाको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक नियम कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।