ताजा समाचार


पूर्वी पहाडका किसानलाई अलैँची थन्क्याउने चटारो

 नेपाल बाहक    २० आश्विन २०७६, सोमबार १०:२१     240 जनाले पढ़िसके

पाँचथर, २० असोज । अलैँची टिप्ने सिजन सुरु भएसँगै पूर्वी पहाडी जिल्लाका किसानलाई यतिखेर अलैँची थन्क्याउन भ्याइ नभ्याइ भएको छ । चाडपर्व मनाउन छाडेर किसानहरु अलैँची थन्क्याउने काममा लागेका छन् ।

पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बालि अलैँची यतिखेर पाँचथरसँगै ताप्लेजुङ र इलाम लगायतका जिल्लाहरुमा टिप्ने सिजन सुरु भएको छ । भदौको अन्तिमबाट सुरु भएर कात्तिक महिनाभर यहाँका किसानहरुलाई अलैँची थन्काउन भ्याइनभ्याइ हुने गर्दछ ।

पाकिसकेको अलैँची समयमै नटिपे बोटमै कुहिने साथै जंगली जनावरहरुले खाने हुनाले समयमै टिप्नु पर्दछ ।

अलैँचीे दशैँ, तिहारजस्ता पर्वको समयमा पाक्ने हुनाले बर्सेनि चाडपर्वको समयमा अलैँची थन्काउन भ्याइनभ्याइ हुने गरेको फालेलुङका अलैँची किसान राजकुमार लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अलैंँची टिप्न भ्याइनभ्याइ छ, चाडपर्व भनेर हुन्न, समयमै नटिपे बोटमै कुहिएर जान्छ, टिप्नै पर्छ।’

अलैँची टिप्न कामदार ९कुल्ली० को अभाव भएको पनि किसानहरुले बताएका छन् । गाँउघरमा भएका युवा विदेशिने तथा पढाइको सिलसिलामा शहरतिर बस्ने हुनाले कामदारको अभाव भएको अर्का किसान याम लिम्बूको भनाइ छ ।