रामेछाप , असोज २८ गते ।
सदरमुकाम मन्थली बजारसँग जोडिएर बग्ने रणजोर खोलाले मन्थली र आसपासको क्षेत्रको कृषि योग्य र बहुमुल्य जग्गामा वर्षेनि क्षति पुर्याउँदै गरएको छ । राणजोर खोला मन्थली र आसपासको क्षेत्रको लागि अभिषाप भएको छ ।
मन्थली नगरपालिका–३ घ्याप्चे शीर भएर बहने रणजोर खोलाले मन्थली नगरपालिकाको वडा नम्बर–३ कठजोरको अर्चले, बडा नम्बर–४ सालुको गैराथोक, वडा नम्बर–५ सुनारपानी र वडा नम्बर–१ मन्थली क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।
रणजोर खोलाको शिर घ्याप्चेमा ठूलो पहिरो गएको छ । सो भिरमा हिउँदभरि सुक्खा पहिरो गएर ढुङ्गा माटो जम्मा हुन्छ बर्षा लागेपछि खोलमा पानी हैन ढुँगा र माटोको लेदो बग्छ । जसले गर्दा खोलाले आसपाका खेत पुरेर बगर बनाएको छ । रणजोर खोलामा वर्षाको समयमा संङ्लो पानी बग्न छाडेको वर्षौ भई सकेको छ । रणजोर खोलाले सालु, अर्चले र सुनारपानीको किनारमा रहेका खेतहरु सबै पुरेको छ । सालुको गैरा थोकमा घ्याप्चेकै परिहोको कारण सयौँ रापनि जमिन बगेको छ । सो स्थानमा ठाउँठाउँमा जमिन धाँजा फाटेर बग्न ठिक्क परेको स्थानीय बताउँछन् ।
जमिन बग्दै जाँदा स्थानीयहरु विस्थापित हुने क्रम बढ्दै गएको छ । खोलाले माथिल्लो क्षेत्रको जमिन पुरे पछि अहिले मन्थली बजार नजिकैको भैसेसुर, राक्से, बरबोटे, कोमलटार लगायतको क्षत्रमा क्षति पुर्याउन लागेको छ । मन्थली बजार प्रवेश गर्ने रणजोर खोलाको पक्कि पुलको आसपासमा बस्ति विस्तार भई स्थानीयले खोलाको वहावाई परिवर्तन गर्न खोजेपछि खोलाले अझ बढी क्षति पुर्याएको छ । जसले गर्दा रणजोर खोलाको पक्कि पुल समेत जोखिममा परेको नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्की बताउँछन् । रणजोर खोलाको पक्कि पुल भन्दा माथिको भागबाट खालाले सडक फोरेर बजार पट्टिको भागमा पस्ने खतरा बढ्दै गएको मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले बताय । त्यसैले यस वर्ष खोलाको सतहलाई खोलि खोला गहिर्याउने योजना नगरपालिकाको रहेको उनले बताए ।
यस वर्ष मात्रै मन्थलीमा खोलाको दुवैतर्फ रहेको खेतीयोग्य जमिनमा किसानले लगायएको धान खेत पुरिदिएको छ । यस वर्षको बाढीले मन्थली आसपासको पाँच सय रोपनीभन्दा बढीे खेत बगरमा परिणत भएको छ । रणजोर खोलामा आएको बाढी राक्से फाँटको धानखेतबाट पसेर सुकाजोर खोलामा मिसिएको छ । रणजोर खोलाको नियन्त्रण गर्न नसक्दा वर्षेनी खेतीयोग्य जमिन कटान गर्दै आएको छ । खोला नियन्त्रणको नाममा राज्यबाट समयसमयमा रकम आएको भए पनि त्यो रकमको उपयोग भन्दा पनि दुरुपयोग भएको स्थानीय कृषकहरुको गुनासो छ । आसपासका जग्गा जोगाउनका लागि विगतमा रणजोर किनारमा जथाभावी तारजालि लगाउँदा खोलाले क्षेत्र विस्तार गर्दै गएको छ ।
आफ्नो जग्गा जोगाउने बहानामा खोला अर्कातिर फर्काउने प्रचलनले खोलाले दुवै किनारमा ठूलो क्षति पुर्याएको छ । खोलाको बगरमा जथाभावी माटो थुपार्ने कार्यले पनि खोलाले थप क्षति पुर्याएको छ । रणजोर खोलालाई नियन्त्रण गर्न नसक्ने हो भने मन्थली बजारको लागि नै अभिषाप बन्ने खतरा बढ्दै गएको छ ।