रामेछाप । असोज ३० गते
सडकको दुरावस्थाका कारण रामेछापको सरदमुकाम मन्थलीमा रहेको बसपार्क क्षेत्र र आसपासका बस्ती अस्तव्यस्त बनेको छ । दुई वर्ष अघिदेखि बिग्रिएको सडक र नाली मर्मत हुन नसक्दा सो क्षेत्र अस्तव्यस्त बनेको स्थानीयहरुले गुनासो गरेका छन् । जिल्लाका अधिकाँस ग्रामीण क्षेत्र तथा दोलखाबाट मन्थली बजार प्रवेश गर्ने मुख्य सडक र सो सडकको नाली मर्मत गर्न सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयको आरोप छ ।
सडकको दुरावस्थाका कारण बसपार्क नजिकै रहेको ट्राफिक प्रहरी कार्यालयको काम पनि प्रभावित बन्न पुगेको छ । सडक किनारमा बसेर यातायात साधनहरुको अभिलेख राख्ने तथा जाँच गर्ने ट्राफिक प्रहरी समेत धुलोको कारण प्रभावित भएका छन् । सवारीका साधन गुड्दा उड्ने धुलोले सर्वसाधरणको स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको बसपार्क क्षेत्रको टोल सुधार समितिका संयोजक बलबहादुर श्रेष्ठ बताए । श्रेष्ठका अनुसार बसपार्क र आकाशे क्षेत्रमा माथिबाट खनिएको सडक तथा घडेरी बनाउने भन्दै जमिन खारेर थुपारेको माटोलाई बाढीले सडक र नालामा लगेर थुपारी दिएको छ । जसका कारण पानी पर्दा सडक हिलाम्य हुने र घाम लाग्दो धुलाम्य हुने गरेकाले सडक आसपासको जनजीवन प्रभावित बन्दै आएको उनले बताए । पानी पर्दा सडक चिप्लो भएर बारम्बार दुर्घटना हुने गरेको उनले बताए । सडक मर्मतका लागि नगरपालिकासँग पटक९पटक अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएको उनले गुनासो गरे । सडकमा उड्ने धुलोको कारण भाँडोमा राखेको खानेकुरा समेत खान नहुने भएको उनले बताए ।
धुलोका कारण ट्राफिक व्यवस्थापनमा समेत असहज उत्पन्न हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख होमबहादुर भित्रीकोटीले बताए ।बसपार्क क्षेत्र मात्रै होइन, काठमाडौं र तराई९मधेशबाट मन्थलीबजार प्रवेश गर्ने भैसेसुर र रणजोर खोला किनारको सकडको अवस्था पनि त्यस्तै रहेको छ । भैसेसुर र रणजोर खोला किनारको सडकमा उड्ने धुलोले स्थानीयको स्वास्थ्यमा समेत नकरात्मक असर पुर्याउने गरेको उनले बताए ।
गतवर्ष रणजोर खोला किनारमा सडक कालोपत्रे गर्ने भनी भत्काइएको सडकको काम पूरा नगरी सडक डिभिजन कार्यालयले छाडेको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतको आरोप छ ।