रामेछाप । कार्तिक १ गते,
मन्थली नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको समेत जिम्मेवारी सम्हालेका शिक्षा शाखाका प्रमुख उपसचिव हेमन्त बुढाथोकीले नगरपालिकाका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुधार र शैक्षिक सुशानको लागि धेरै प्रयासहरु भएता पनि सोचे अनुरुपको सुधार हुन नसकेको बताएका छन् । उनले यसमा सुधारको लागि नागरिक समाजले पनि खबरदारी गर्नुु पर्ने बताए ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापसंगको समन्वय र युएसएडको आर्थिक सहयोग तथा एफएचआई ३६० र मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपाल दोलखाको साझेदारीमा सञ्चालित नागरिक समाज ः पारस्पारिक जवाफदेहित परियोजनाले आयोजना गरेको गुणस्तरीय शिक्षा र शिक्षामा सुशानको लागि स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमा उनले सो कुरा बताएका हुन् । अहिले मन्थली नगरपालिका भित्र ६७ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयहरु संचालनमा रहेकोमा अहिले प्राथमिक तहका ४० प्रतिशत विद्यार्थी संस्थागत र ६० प्रतिशत विद्यार्थी मात्र सामुदायिक विद्यालयमा अध्ययनरत रहेको बताए । यसलाई हेर्दा सामुदायिक विद्यालयहरुले शिक्षाको गुणस्तर विकास गर्न नसकेको उनको भनाई छ । उनले नगरपालिकाभित्र संचालनमा रहेको ७३ वटा विद्यालयमा अहिले १० हजार ५ सय २१ जना विद्यार्थीहरु अध्ययनरत रहेको पनि जानकारी दिए ।
कार्यक्रममा बोल्दै संस्थगत विद्यालयका शिक्षकहरुले अहिले विद्यार्थीहरुका जग बसाल्ने संस्थागत विद्यालयहरु तर एसईईमा जस लिने सामुदायीक विद्यालय भएको बताए । शिक्षकहरु गुणस्तरीय शिक्षाको लागि जिम्मेवार भएर लाग्ने हो भने निजि र सामुदायीक विद्यालय भन्ने विवाद नै हट्ने उनीहरुको भनाई थियो । सामुदायीक विद्यालयका शिक्षकहरुले सिमित साधन र स्रोतका बिचमा सामुदायीक विद्यालयहरुले केही वर्ष यता निक्कै प्रगति गरेको बताए ।
रामेछाप बारका अध्यक्ष बिचारसिं तामाङले बालमैत्रि र जीवनउपयोगि शिक्षामा लाग्न जोड दिए । त्यस्तै विद्यालयहरु अभिभवक र विद्यार्थीहरु प्रति पारदशी हुनु पर्ने बताए । गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेलले अहिलेको स्रोत र साधनलाई उपयोग गरेर शिक्षा क्षेत्रमा धेरै सुधार गर्न सकिने बताए ।
कार्यक्रममा मन्थली नगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरुको कम्तिमा वर्षको एक पटक अभिभावक भेला गराई सम्पुर्ण शैक्षणिक गतिविधि र आर्थिक गतिविधिको बारेमा जानकारी गराउने, पालिका भित्रका सबै विद्यालयमा गुनासो सुन्ने शिक्षक र उचित स्थानमा गुनासो पेटीका राख्ने व्यवस्था मिलाउने र विद्यालयहरुको सामाजिक परिक्षणलाई प्रभावकारी र अभिभावकहरुको सहभागितामूलक हुने गरि गराउनको लागि सरोकारवालाको ध्यानाकर्षण गराउन नागरिक समाजको तर्फबाट पहल गर्ने निर्णय भएको छ ।
कार्यक्रममा कानुन व्यवसायीहरु , नागरिक समाजका अगुवा, विभिन्न विद्यालयका शिक्षक र पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले नगरभित्रका सामुदायिक विद्यालयहरुको शैेक्षिक गुणस्तर वृद्धि गर्नका लागि विभिन्न योजना र बजेट ल्याउने गरेको भएपनि खासै सुधार नहुनु दुःखद रहेको बताएका थिए । उनीहरुले अबको शिक्षामा सुधारका लागि ल्याइने योजनाहरु देखिने र प्रभावकारी हुने खालको ल्याउन नगरपालिकालाई सुझाव दिएका छन् । कार्यक्रमको सहजिकरण मानवअधिकारकर्मी ,पत्रकार एवं हुराडेकग नेपाल दोलखाको साझेदारीमा सञ्चालित नागरिक समाज ः पारस्पारिक जवाफदेहित परियोजना रामेछापका कार्यक्रम संयोजक नवराज पथिकले गरेका थिए