ताजा समाचार


प्रदेश २ का कर्मचारीलाई एक महिनाको तलव बराबरको भ्रमण भत्ता

 नेपाल बाहक    २४ कार्तिक २०७६, आईतवार ०८:४३     557 जनाले पढ़िसके

धनुषा , कात्तिक २४ गते ,
प्रदेश २ मा कार्यरत्त निजामती कर्मचारीहरुले अब आन्तरिक पर्यटनमा जाँदा एक महिनाको थप तलब सुविधा पाउने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनको उद्देश्यले प्रदेश २ सरकारले यस्तो कानुन बनाएको हो ।

प्रदेश स्तरीय निकायका निजामती कर्मचारीहरुको आन्तरिक पर्यटन कार्यक्रम सञ्चालन सम्बन्धी निर्देशिका २०७६ ले देश भित्र कुनै पनि पर्यटकीय क्षेत्र घुम्न जाने कर्मचारीलाई एक महिनाको तलब सुविधा प्रदान गर्ने निर्धारण गरेको छ । तर त्यस्ता कर्मचारीले निर्देशिकाले तोकेको केही दायित्व र आचारसंहिता पालना गर्नुपर्ने उल्लेख छ ।

भ्रमण सकेर कार्यालयमा हाजिर भएको सात दिनभित्र आफू घुमेको पर्यटकीय स्थल, त्यहाँको आफूसहितको तस्बिरहरुलगायत भ्रमणको विस्तृत प्रतिवेदन सम्बन्धित निकायमा पेश गरे मात्र एक महिना बराबरको थप तलब भुक्तानी हुने निर्देशिकामा जनाइएको छ । कर्मचारी भ्रमणमा जानु अघि पनि एक महिनाको थप तलब पेश्कीको रुपमा लिन सक्ने छन् । तर, प्रतिवेदन बुझाए मात्र पेश्की लिएको रकम फर्छौट हुने निर्देशिकामा उल्लेख छ ।