सोलुखुम्बु , कात्तिक ।
विभिन्न हिमाल आरोहण अनुमतिबाट ६ करोड ४० लाख ८८ हजार ८४ रुपैयाँ रोयल्टी संकलन भएको छ । ६२ देशका १ हजार १ सय ६२ आरोहीबाट यो रोयल्टी संकलन भएको पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९ सय १५ र महिला २ सय ४७ जना रहेका छन् । आरोहीले शरद ऋतुमा विभिन्न ५० हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो । जसमध्ये सबैभन्दा बढी २७ समूहका ३ सय १६ जनाले आमादब्लम हिमालको आरोहण अनुमति लिएका छन् । जसबाट १ कारोड ४० लाख ३६ हजार ३ सय रुपैयाँ रोयल्टी संकलन भएको छ ।
सबैभन्दा बढी रोयल्टी भने मनास्लु हिमाल आरोहण अनुमतिबाट उठेको छ । मनास्लुबाट मात्रै २ करोड ७० लाख ८५ हजार ६ सय रुपैयाँ रोयल्टी संकलन भएको निरौलाले जानकारी दिनुभयो । मनास्लु हिमाल आरोहणका लागि २७ समूहका २ सय ६४ जनाले अनुमति लिएका छन् ।
त्यसैगरी धवलागिरि हिमाल आरोहणबाट ३२ लाख ८ हजार ५ रुपैयाँ रोयल्टी संकलन भएको छ । यो हिमाल आरोहणका लागि तीन समूहका ३१ जानले अनुमति लिएका छन् । यता थापा पिक आरोहण अनुमतिबाट ११ लाख ८९ हजार ३ सय १२ रुपैयाँ संकलन भएको पर्यटन विभागले जनाएको छ ।