ताजा समाचार


शान्ति सम्झौता भएको १३ वर्ष पुगेको अवसरमा मन्थलीमा अन्तरक्रिया कार्यक्रम

 नेपाल बाहक    ६ मंसिर २०७६, शुक्रबार ०६:२९     387 जनाले पढ़िसके

रामेछाप । मंसिर ६ गते,
विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुगेको दिनको सम्झनामा गिरिजाप्रसाद कोइराला जिपि फाउण्डेसन रामेछापले सदरमुकाममा एक अन्तरक्रिया कार्यक्रमको अयोजना गरेको छ । बिहिबार आयोजना गरिएको कार्यक्रममा लोकतन्त्र, शान्ति र विकासको लागि गिरिजाप्रसाद कोइराले खेलेको योगदानको चर्चा गरिएको थियो ।
फाउण्डेसनका जिल्ला अध्यक्ष दिपक खड्काको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ रामेछापका पूर्वअध्यक्ष टीकाप्रसाद भट्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले नेपालको जनआन्दोलनमा पत्रकारहरुको महत्वपूर्ण भूमिका भएको बताए । कार्यक्रममा पत्रकार भट्टले अझै पनि शान्ति प्रक्रियाका धेरै काम बाँकि रहेको बताए । सत्य निरुपण, वेपत्ता छानविन लगायतका काम अझै बाँकि रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रामेछापका सचिव लेखबहादुर कार्कीले निष्ठा र निडरता गिरिजाप्रसाद कोइरालाको छवि भएको बताए । राजनीतिक कालखण्डमा प्रतिपक्षि र आफ्नै पार्टी भित्र पनि आलोचना हुने गिरिजाप्रसाद कोइरालाले जीवनको उत्तरार्धमा तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर शान्ति सम्झौता गराई राष्ट्रिय नेता बनेको उनले बताए । कार्यक्रममा नेपाली काँग्रेस रामेछापका कोषाध्यक्ष कुमार श्रेष्ठ, नेता कृष्णबहादुर महत लगायतले गिरिजाप्रसाद कोइरालाको योगदानको चर्चा गरेका थिए ।