रामेछाप । मंसिर ७ गते,
रामेछाप जिल्लाको सुनपाति गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा गाउँपालिकाले प्रवाह गरेको सार्वजनिक सेवा तथा विकास निर्माणको प्रभावकारिताका बिषयमा सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रम सान नेपाल रामेछापको सहजिकरणमा गाउँपालिका आफैले आयोजना गरेको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवं सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले गाउँपालिकाले गरेका राम्रा कामहरु कसैले नदेखेको गुनासो गरे । अध्यक्ष लामाले सुनापति गाउँपालिकामा शिक्षा, स्वास्थ्य, पूर्वधार, सडक, कृषि, पशुपालन, खानेपानी, सडक, सामाजिक सुरक्ष लगायतका क्षेत्रमा धेरै उपलब्धी मुलक काम भएता पनि त्यसलाई जनताले नदेखेको गुनासो गरे ।
गत आर्थिक बर्षहरुमा भएका काम त्यसको प्रभावलाई मध्यनजर गरी गाउँपालिकाले चालु आर्थिक वर्षमा जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम ल्याएको उनको भनाई छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीता विष्ट चौलागाइले यायिक समितिमा आउने विभिन्न विबादहरुलाई मेलमिलापको माध्यमबाट दुबै पक्षलाई जित जितको महसुस हुने गरी विबाद समधान गर्ने गरेको बताइन् । उनले गाउँपालिकाबाट हुने अनुगमनलाई नागरिक स्तरबाट आएको गुनासोहरुलाई समेत सम्वोधन गरी थप कडा पारिने बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले गत आर्थिक वर्षमा प्रवाह भएका सार्वजनिक सेवा तथा विकास निर्माणको सम्पूर्ण विवरण सार्वजनिक गरेका थिए ।
उनले समृद्ध सुनापति गाउँपालिका बनाउन गाउँपालिकाले कुनै कसुर बाकि नराखिने बताए । सुनापति गाउँपालिका वडा नं १ का वडाध्यक्ष चण्डेश्वर चौलागाई, वडा नं २ का वडाध्यक्ष कमल कुमार केसी, वडा नं ३ का वडाध्यक्ष बाबुराम तामाङ, वडा नं ४ का वडाध्यक्ष खड्क बहादुर घिसिङ र वडा नं ५ का वडाध्यक्ष ठुलाकान्छा तामाङले आ–आफ्नो वडाबाट प्रवाह भएका सेवा तथा विकास निर्माणको बारेमा जानकारी गराएका थिए । उनीहरुले आआफ्नो वडाको समग्र विकासको लागि राजनीतिक दलका नेता देखि बुद्धिजिबीहरुसँग छलफल गरेर मात्रै अगाडि बढ्ने गरिएको बताएका थिए । कार्यक्रममा सहभागिहरुले गाउँपालिकाले गरेका कामहरु बनाइएको योजना अनुसार प्रभावकारी नभएको गुनासो गरेका थिए ।