रामेछाप । मंसिर १५ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालीका वडा नं. १४,फुलासी गाउँका कृषकहरुले जोत्ने ट्याक्टर पाएका छन् । कृषकहरुलाई आधुनिक खेती प्रणाली अपनाउन सहयोग पुगोस भनेर वडा कार्यालयले ट्याक्टर उपलव्ध गराईदिएको छ । मिनि ट्रिलर भनिने खेतबारी जोत्ने त्यस ट्याक्टरले मेसिन थप गरेपछि धान काट्ने काम समेत गर्छ । शनिवार फुलासी पोखरीस्थित कालिदेवी माध्यमिक विद्यालयको प्राङग्णमा आयोजित एक कार्यक्रमका विच वडाअध्यक्ष भरत सिं वाईबाले ं कृषकहरुलाई ट्याक्टर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष वाईबाले कृषि क्षेत्रको विकासको लागी किसानको माग अुनसार जुनसुकै प्रकारको सहयोग गर्न आँफु तयार रहेको प्रतिवद्धता व्यक्त गरे । कृषिको व्यवसायिकरण नै फुलासी गाउँको आर्थिक सम्वृद्धिको आधार भएको अध्यक्ष वाईबाको भनाई थियो । त्यस कार्यक्रममा प्रेस काउन्सिल नेपालका उप–प्रशासकिय अधिकृत रामशरण बोहोरा,मिडिया अुनगमनकर्ता विपुल पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।
वडा कार्यालयको आर्थिक सहयोग र फुलासीमा रहेको ह्याङला कृषि सहकारी संस्था लिमिटेडको सहकार्यमा २४ वटा ट्याक्टर ल्याईएको थियो । कुल २० लाख ५२ हजार खर्च भएको वडा कार्यालयले जनाएको छ । त्यस्तै २ वटा घाँस काट्ने आधुनिक मेसिन पनि कृषकहरुलाई हस्तान्तरण गरिएको छ । पछिल्लो समय किसानहरुले जोत्नको लागी गोरु पाल्न छाडेपछि गाउँको खेतबारी बाँझै बस्न थालेकोले जोत्ने प्रयोजनको लागी ट्याक्ट्र ल्याएको ह्याङला कृषि सहकारी संस्था लिमिटेड फुलासीका अध्यक्ष तुला वहादुर तामाङको भनाई छ । उनका अनुसार २५ घरधुरी कृषक बराबर एउटा ट्याक्टर प्रदान गरिएको छ भने कृषकले खेतबारी जोतेबापत प्रतिघण्टा ४ सय १५ रुपैया शुल्क तिर्नुपर्नेछ । जोत्ने कामको लागी कृषक समुहका सदस्यलाई तालिम समेत दिईएको छ । त्यस ट्याक्टरले दिनभरीमा ५ रोपनी जमिन जोत्न सक्छ । आधुनिक मेसिन पाएसंगै फुलासीका किसानहरु खुशी भएका छन् । अव खेतबारी मेसिनले जोत्ने भएपछि कृषि उत्पादन बढ्ने उनिहरुले विश्वास गरेका छन् । युवाहरु गाउँबाट शहर पलायन भएपछि खेतबारी जोत्ने,खन्ने काम नहुँदा उर्वर खेतबारी बाँझो बसेको थियो । अव जग्गाधनीले तालिम प्राप्त खेतबारी जोत्ने अप्रेटरलाई खेत जोतखन गर्ने काम दिएपछि स्थानिस्तरमा कृषि रोजगारीसमेत सिर्जना हुनेछ् । मन्थली नगरपालिकाको वडा नम्वर १४,फुलासी कृषिको हव मानिन्छ । उपयुक्त हावापानी भएको फुलासीमा अन्नबालीमा धान,गहुँ,मकै,कोदो,फापर लगाएत धेरै आलु उत्पादन हुन्छ । पछिल्लो समय जुनार,सुन्तला,कागती,किवि,अम्रिसो,अलैँची जस्ता नगदेवालीहरु पनि त्यस ठाउँमा व्यवसायिक खेतीकै रुपमा विस्तार भईरहेको छ