ताजा समाचार


गायक प्रकाश सपुत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त

 नेपाल बाहक    १९ पुष २०७६, शनिबार ०४:५४     485 जनाले पढ़िसके

गायक प्रकाश सपुत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् । गायक सपूत साङ्गीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उहाँका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गर्नुभएको थियो । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताउनुभयो ।
गायक सपूतले आफ्नो र समग्र नेपाली साङ्गीतिक क्षेत्रको पहिचानलाई प्रदेश सरकारले मूल्याङ्कन गरेको धारणा राख्नुभयो । “म अब जहाँ–जहाँ कार्यक्रमका सिलसिलामा पुग्छु, भ्रमण वर्षको प्रचार गर्नेछु”, उहाँले भन्नुभयो, “मेरा सिर्जनामा पनि नेपालका पर्यटकीय गन्तव्यका भिडियो र विषयवस्तु समेट्ने प्रयास गर्नेछु ।”

भ्रमण वर्षको सफलताका लागि सिर्जनात्मक, रचनात्मक र प्रचारात्मक हिसाबले सहयोगी भूमिका खेल्ने गायक सपूतले प्रतिबद्धता जनाउनुभयो । “विशेषगरी आन्तरिक पर्यटकलाई गण्डकी प्रदेश भ्रमणका लागि आकर्षित गर्नु मेरो दायित्व हुनेछ”, उहाँले भन्नुभयो, “विदेशका कार्यक्रममा पनि भ्रमण वर्षको प्रचार गर्छौँ ।”

गायक सपूत अहिलेको नेपाली लोकसङ्गीत जगत्मा सफल प्रतिभा हुनुहुन्छ । सपूतको ‘बोलमाया’, ‘गलबन्दी’लगायतका गीत बहुचर्चित छन् । केही महिनाअघि सार्वजनिक झ्याउरे शैलीको मौलिक लोकदोहारी गीत ‘गलबन्दी’ अहिलेसम्म युट्युवमा तीन करोड ३३ लाखभन्दा बढी पटक हेरिएको छ ।