ताजा समाचार


गौरीशंकर संरक्षण क्षेत्रमा लोपउन्मुख ७ प्रकारका बन्यजन्तु फेला

 नेपाल बाहक    २० पुष २०७६, आईतवार १२:३९     579 जनाले पढ़िसके

दोलखा । दोलखा जिल्लाको गौरीशंकर संरक्षण क्षेत्रमा लोपउन्मुख ७ प्रकारका बन्यजन्तु फेला परेका छन् । गौरीशंकर गाउँपालिका ९ रोल्वालिङमा हिउँ चितुवा सहित अन्य ७ प्रकारका लोपउन्मुख बन्यजन्तु फेला परेका गौरीशंकर संरक्षण क्षेत्रले जनाएको छ । लोपउन्मुख जनावर हिउँ चितुवा सहित ब्वासो, हाव्रे रेड पाण्डा, कस्तुरी मृग लगाएत सात प्रजातिका संरक्षित वन्यजन्तुहरु फेला परेको संरक्षण क्षेत्रलले आज पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । स्वचालितरुपमा चल्ने क्यामेराले रोल्वालिङ क्षेत्रमा २०७६ असार १५ गते, भाद्र २२ गते र भाद्र २६ गते गरि ३ पटक वयस्क हिउँ चितुवाको पहिलो पटक तस्वीर खिचेको संरक्षण अधिकृत विष्णु प्रसाद पाण्डेले बताउनु भयो । अनुगमनको क्रममा च्छो–रोल्पा, दुधकुण्ड र येलुङ क्षेत्रमा ब्वाँसो, नागाउँ क्षेत्रमा कस्तुरीमृग र बेदिङ–गो टाकुरा क्षेत्रमा रेडपाण्डा पनि फेला पारेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेका २७ प्रजातिमध्ये ७ प्रजातिहरु अनुसन्धानको क्रममा गौरिशंर संरक्षण क्षेत्रमा फेला परेको र यो संरक्षण क्षेत्रका लागि अत्यन्त उपलब्धी रहेको गौरिशंकर संरक्षण क्षेत्रले जनाएको छ ।

रोल्वालिङ उपत्यकाका बिभिन्न १२ स्थानमा बुसनेल ट्रोफि क्याम नामक इन्फ्रारेड क्यामरा राखी विभिन्न जनावरहरुको अनुसन्धान गरिएको थियो । क्यामेरा ट्रकिङ विधीवाट संरक्षित हिउँ चितुवा सहित रातो फ्याउरो, झारल, घोरल, थार, मलसाप्रो, पितोदर मलसाप्रो, सहित १५ विभिन्न प्रजातिका स्तनधारी जनावरहरु भेटिनुका साथै डाँफे, मुनाल, चिलिमे, हिउँ कुखुरा, हाडफोर समेत १२ प्रजातिका चराहरु समेत क्यामेरामा कैद भएको संरक्षण क्षेत्रले जनाएको छ । छेतछेत झरना देखि च्छोरोल्पासम्मको पदमार्गमा विभिन्न स्थानहरुमा हिमाली कालोभालु, आसामी बाँदर, डाँफे, झारल, घोरल, लंगुर तथा रेडपाण्डा समेत अवलोकन गर्न सकिने संरक्षण क्षेत्र आयोजना प्रमुख सत्य नारायण शाहाले बताउनु भयो ।