ताजा समाचार


आज बाट श्री स्वस्थानी ब्रत सुरु

 नेपाल बाहक    २५ पुष २०७६, शुक्रबार ०४:३३     342 जनाले पढ़िसके

पौषशुक्ल पूर्णिमा अर्थात् आजदेखि एक महिनासम्म सम्पूर्ण हिन्दू नेपालीका घरघरमा श्री स्वस्थानी ब्रत शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ ।

सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ’ भनी बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको ब्रत बसेको र मनोकांक्षा पूर्ण भएपछि उनकै आज्ञानुसार लोककल्याणका लागि पृथ्वीलोकमा पनि श्री स्वस्थानीको ब्रत प्रारम्भ गरिएको धार्मिक विश्वास छ ।

यस पर्वमा विशेषगरी महिलाहरू बिहान सबेरै उठी स्नान गरेर नित्य मध्याह्न महादेवको पूजा आराधना गर्नुका साथै कतिपयले एक महिने ब्रत समेत बस्ने गर्छन् । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर ब्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरुको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममुलक पौराणिक धर्मग्रन्थ पनि हो ।

श्री स्वस्थानी परमेश्वरीको ब्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त भई मृत्युपछि कैलाशमा पनि वास हुने विश्वास गरिन्छ । काठमाडौँ उपत्यकाबाट करिब चार कोस पूर्व शालीनदीमा महिनाभर विशेष मेला लाग्छ भने कतिपय महिला त्यहींँ बसेर एक महिनासम्म नै विशेष विधिपूर्वक श्री स्वस्थानीको ब्रत बस्छन् ।