ताजा समाचार


मन्थली नगरपालिकाका शिक्षण र स्वास्थ्य संस्थामा नागरीक स्तरको निगरानी

 नेपाल बाहक    १२ माघ २०७६, आईतवार १२:४७     537 जनाले पढ़िसके

रामेछाप । माघ १२ गते
रामेछापको मन्थली नगरपालिकाका विभिन्न स्वास्थ्य र शिक्षण संस्थाहरुमा मानवअधिकार संरक्षण सञ्जाल रामेछापको टोलीले आइतबार निगरानी गरेको छ । सञ्जालका संयोजक पाण्डव प्रसाईको नेतृत्वमा गएको टोलिले सो निगरानी गरेको हो ।
निगरानीको क्रममा मन्थली नगरपालिका–८ चिसापानीको स्वास्थ्य चौकीमा कार्यालय समयमा कर्मचारीहरु कार्यालयमा नपुगको पाइएको सञ्जालका संयोजक पाण्डव प्रसाईँले बताए । त्यसैगरि सो स्वास्थ्य चौकीको भवन समेत भुकम्पले जिर्ण भएर जोखिमपुर्ण रहेको पाइएको निगरानी टोलीका सदस्यहरुले बताए ।
निगरानीको क्रममा स्वास्थ्य चौकी पुरानागाउँको व्यवस्थापकिय पक्ष अत्यन्त राम्रो पाइए पनि राज्यले निशुल्क उपलब्ध गराउने ३५ थरि औषधि भने नियमित नभएको सो क्रममा पाइएको थियो । सो स्वास्थ्य चौकीमा अहिले ३२ थरि मात्र औषधि रहेको स्वास्थ्य संस्थका इञ्चार्ज राजकुमार आरणले बताए । उनले आँखामा हाल्ने औषधि लगायतका केही औषधिहरु अहिले सकिएको बताए । यसैगरि चिसापनी स्वास्थ्य चौकीमा ३० थरि मात्र औषधि रहेको स्वास्थ्यकर्मीहरुले जानकारी दिएका थिए ।
निगरानीको क्रममा विद्यालयहरुमा विद्यार्थीको छात्रावृत्तिको रकम निकासा नहुँदा विद्यार्थीले शैक्षिकसत्रको अन्तिममा आइपुग्दा पनि यस वर्षको छात्रावृत्तिको रकम नपाएको, यस आर्थिक वर्षको ६ महिना बित्दा पनि विद्यार्थी खाजाको रकम समेत निकासा नभएको पाइएको टोलीका सदस्य एवं गैरसरकारी संस्था महासंघ रामेछापका उपाध्यक्ष रत्नप्रसाद कँडेलले बताए ।
मानवअधिकार संरक्षण सञ्जालले विभिन्न सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुमा नागरिक निगरानी गरि सेवा सुधारको लागि सरोकारवालालाई सुझाव दिँदै आएको छ ।