ताजा समाचार


रामेछापमा सरकारी गाडीको चरम दुरुपयोग

 नेपाल बाहक    १० फाल्गुन २०७६, शनिबार १२:०३     2295 जनाले पढ़िसके

रामेछाप । फागुन १० गते,
रामेछाप जिल्लाका निर्वाचित जनप्रतिनिधिहरुबिच सार्वजनिक विदाको दिन सरकारी गाडी दुरुपयोगर्ने तिब्र प्रतिस्पर्धा देखिएको छ । शुक्रबार महाशिवरात्री पर्वको अवसरमा दिएको सार्वजनिक विदाकोदिन मन्थली नगरपालिका उप–प्रमुख मायाकुमारी कार्कीले जन्त जान सरकारी गाडीको दुरुपयोग गरेको घटनाले चर्चा कमाइरहेको बेला जिल्लाको रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्काको गाडी शनिबार बिना पास वडाध्यक्षको आफन्त बोकेर दोस्रो रामेछाप महोत्सव हेर्न सदरमुकाम मन्थली आएको छ ।
उपप्रमुख खड्काले चड्ने रामेछाप नगरपालिकाको बा २ झ ४४६३ नम्बरको गाडी वडा नं ८ का वडाध्यक्ष केदार कार्की आफ्नो परिवार तथा इष्टमित्र बोकेर रणजोर खोलाको पुलमुनीको बाटो हँुदै महोत्सव हेर्न आएका हुन् । यस बारेमा जिल्ला प्रशासन कार्यालयमा बुझ्दा रामेछाप नगरपालिकाले सार्वजनिक विदाको दिन कुनैपनि सवारी पास नलिएको जानकारी दिएको छ । रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी भास्कर दाहालले रामेछाप नगरपालिकाको बा २ झ ४४६३ नम्बरको गाडीले सार्वजनिक विदाको दिन चल्न पाउँने कुनै पनि सवारी पास नलिएको बताए ।
रामेछाप नगरपालिका प्रमुख नर बहादुर थापा मगरले आफु दुई तीनदिनदेखी काठमाडौँमा रहेकाले नगरको गाडि दुरुपयोग भएको भन्ने बारेमा आफुलाई केहि जानकारी नभएको बताए । यसअघि शुक्रबार महाशिवरात्रीका दिन मन्थली नगरपालिकाको कर्मचारी सुवास काफ्लेको विवाहमा मन्थली नगरपालिका उप–प्रमुख कार्कीले सरकारी गाडीको दुरुपयोग गरेको समाचार प्रकाशन तथा प्रसारण भएको थियो । उप–प्रमुख कार्की सरकारी कामको लागि भन्दै रामेछाप– काठमाडौं हुँदै हेटौंडासम्मको लागि जिल्ला प्रशासन कार्यालय रामेछापबाट सवारी पास लिएर रामेछाप नगरपालिकाको साँघुटारमा जन्त गएकी थिइन् ।