रामेछाप । परियार एकता समाज रामेछापको प्रथम वार्षिक साधारणसभा २०७६ सम्पन्न भएको छ । औपचरिक रुपमा दर्ता भई वैधानिकता प्राप्त गरेसँगै भएको प्रथम वार्षिक साधारणसभा आज मन्थलीमा सम्पन्न भएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार वस्नेतले विभेद अन्त्य गर्नका लागि साँस्कृतिक रुपान्तरण गर्नुपर्ने धारणा राख्नु भएको छ । मन्थलीमा आयोजित प्रथम वार्षिक साधारण सभाको प्रमुख अतिथिका रुपमा रहनु भएका नगरप्रमुख वस्नेतले नियम, कानून र संविधानले समेत कही कतै विभेद गर्न नपाउने व्यवस्था गरकोे भन्दै संविधान र कानूले दिएको अधिकारलाई व्यवहार र यथार्थमा परिणत गर्नका लागि साँस्कृतिक रुपान्तरण गर्नुपर्ने धारणा राख्नु भएको हो । उहाँले संविधानले सबै नागरिकका लागि समान हकको प्रतिपादन गरिसकेको पनि बताउनुभयो । साँस्कृतिक रुपान्तरण नभए सम्म विभेद पनि अन्त्य नहुने उहाँको भनाई छ । नगरप्रमुख वस्नेतले यस्ता विभेद अन्त्यका लागि १९९७ देखि २०७२ विभेदका विरुद्ध लडाई लड्दै आएको समेत स्मरण गराउनुभयो । सबै प्रकारका विभेद कही कतै पनि गर्न नपाइने भनेर संविधानले नै किटान गरेकोे कुनै पनि किसिमले कसैलाई पनि विभेद नगर्न सबैलाई आग्रह समेत गर्नु भएको छ । यसैबीच, रेडियो रामेछापका स्टेशन म्यानेजर तथा कानून व्यवसायी सौजन्य सत्यालले दलितहरु सँग जोडिएर आएका मुद्दाहरुको निःशुल्क रुपमा हेरिदिने बताउनु भएको छ । उहाँले छुवाछुतका सवालमा दलितहरुसँग जोडिएर आएका मुद्दाहरु लेखिदिनेदेखि पुर्पक्ष गरिदिनेसम्मको काम निःशुल्क गरिदिने प्रतिबद्धता जनाउनु भएको हो । यसैगरी राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापका अध्यक्ष लेखबहादुर विकले पनि दलितमाथि भएका विभेद अन्त्य गर्न सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनु भएको छ । मुलुक संघीयतामा गएर संविधानको कार्यान्वयन भए पनि स्थानीय सरकारले समेत दलितहरु माथि भएको विभेद अन्त्यको लागि खासै चासो नदेखाएको भन्दै अध्यक्षले विकले यस्ता विभेदको अन्त्यका लागि सबै दलितहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभयो । समाजले मृगौला रोगबाट पीडित मिना दमाईलाई नगद १ लाख २० हजार बराबरको चेक हस्तान्तरण गरेको थियो । कार्यक्रममा विशिष्ट व्यक्तिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । नकार्यक्रममा समाजका कोषाध्यक्ष राजन सुन्दासले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सचिव गोपाल नेपालीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमा समाजका पदाधिकारी तथा सदस्यहरु एवम् विभिन्न पार्टीका प्रतिनिधि र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम परियार एकता समाजका अध्यक्ष विमल परियारको अध्यक्षतामा सम्पन्न भएका हो ।