२६ फागुन रामेछाप । विद्यालयमा विद्यार्थीहरु नआउने, आए पनि बिचैमा विद्यालय छाड्ने समस्यको समाधानको लागि रामेछापको एक विद्यालयले नयाँ विधिको प्रयोग गरेको छ । आदिवासी माझी समुदायका विद्यार्थीहरुले पढ्ने सो विद्यालयमा विद्यार्थीको निरन्तरता र अभिभावको संलग्नताको लागि विद्यालयले भाडामा जग्गा लिएर समुदाय र विद्यालयलाई जोडेको छ ।
जखनीस्थान आधाभूत विद्यालयले यो नयाँ विधि प्रयोग गरेपछि विद्यालयमा विद्यार्थीहको संख्या बढेको छ । माझी समुदायको मात्र बसोबास रहेको सित्खाको माझी बस्तीबाट अहिलेसम्म एकजनाले पनि एसएलसी पास गरेका छैनन् । यसैलाई ध्यानमा राखि विद्यार्थीको विद्यालयमा निरन्तरता र अभिभावको विद्यालयसंगको आवद्धता जोड्नको लागि नयाँ प्रयोग सुरु गरिएको खाँडादेवी गाउँपालिका–३ का वडाअध्यक्ष पुष्कर कुमार कार्कीले बताए ।
कार्कीका अनुसार सो विद्यालय आसपासको २२ रोपनी भन्दाबढी जग्गा विद्यालयले भाडामा लिएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा विद्यालयले सो जग्गा भाडामा लिएको हो । सो जग्गामा वडा कार्यालयकै सहयोगमा माछा पोखरी निर्माण गरिएको छ । साथै अन्य जग्गामा तरकारी खेती, धान गहुँ लगायतको खेति समेत सो विद्यालयमा छोराछोरी पढाउने अभिभावकले लगाउन लागेका छन् ।
आर्थिक रुपमा विपन्न माझी समुदायका अभिभावकहरुले विद्यालयको जमिनमा खेति लगाए वापत केही अंश विद्यालयलाई दिन्छन् । त्यस्तै माछा पोखरीको उत्पादनको पनि ४० प्रतिशत विद्यालय र ६० प्रतिशत समुदायले लिने गर्दछन् । समुदायले विद्यालयलाई बुझाउने तकारी, अन्न लगायतको उत्पादन सोही विद्यालयमा पढ्ने बालिबालीकाहरुलाई खाना खुवाउन प्रयोग गरिने अध्यक्ष कार्कीले बताए ।
अहिले विद्यालयले विद्यार्थीहरुलाई बिहानको खाना र दिउँको खाजा विद्यालयमा नै व्यवस्था गरेको छ । यसले गर्दा विद्यार्थीहरु समयमा नै विद्यालय आउने र पुरा समय विद्यालय बसेर पठन पाठन गर्न लागेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकृष्ण माझी बताउँछन् ।
विद्यालयमा पहिला खासै विद्यार्थीहरु नहुने भए पनि यो कार्यक्रम सुरु भए पछि स्थानीय अभिभावकका ६० जनाभन्दा बढी विद्यार्थीहरु नियमित विद्यालय जाने गरेको स्थानीय अभिभावक धर्मबहादुर माझी बताउँछन् । कक्षा ५ सम्म पढाई हुने सो विद्यालयलाई अब कक्षा वृद्धिगर्दै १० कक्षासम्म पुर्याउने गरि अभिभावकहरु लागेको उनले बताए ।
खाँडादेवी गाउँपालिकाले एक विद्यालय एक उत्पादन कार्यक्रम सुरु गरेको र सोही अनुसार सो विद्यालयले माछा तथा तरकारी र अन्य खेति सुरु गरेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ बताउँछन् । यसले विद्यालयको आम्दानीको श्रोत बढ्ने तथा विद्यार्थीहरु समेतको संलग्नतामा यस्तो काम गर्दा कृषि पेसा प्रति विद्यार्थीहरुको समेन सम्मान बढ्ने उनको भनाई छ ।