ताजा समाचार


सुकेका पानीका मुहान उत्खनन् गर्दै रामेछापको खाँडादेवी गाउँपालिका

 नेपाल बाहक    ३ चैत्र २०७६, सोमबार ०८:१६     358 जनाले पढ़िसके

रामेछाप । पानीका मुहानहरु सुकेर खानेपानीको अभाव हुन लागेपछि जिल्लाको खाँडादेवी गाउँपालिकाले पुराना पानीका मुहानहरुको उत्खननको काम सुरु गरेको छ । सो पालिकाले नमुनाको रुपमा वडा नं ६ माकादुममा खानेपानीका मुहानको उत्खनन् सुरु गरेको हो ।
माकादुमको कुवापानीको कुवामा उत्खनन् गर्दा पर्याप्त पानी निस्किए पछि स्थानीय र गाउँपालिका उत्साहित भएका छन् । अब सुकेका मुहानहरुको क्रमशः उत्खनन् गरी पानी निकाल्ने योजना बनाएको खाँडादेवी गाउँपालिका– ६ का वडाअध्यक्ष पुष्कर कार्की बताउँछन् । यस वर्ष पनि सो वडामा अर्को एउटा पँधेराको पानी उत्खनन् गर्ने कार्यक्रम राखिएको उनले बताए ।
कुवापानीमा रहेको कुवाको पानी २०७२ सालमा आएको भूकम्प पछि सुक्यो । भूकम्पको कारण कुवामा पानी सुकेपछि स्थानीलयाई पीउने पानीको निक्कै संकट भएको थियो । स्थानीयले पानी सुकेको कुवामा गहिरो पारेर खन्दा पानी निस्कन सक्ने भन्दै वडा कार्यालयमा सो स्थानमा डोजर लगाएर खन्न अनुरोध गरे । सोही अनुसार १० फिट जति खनेपछि पहिलाको भन्दा पनि ठूलो पानी निस्किएको स्थानीयले बताए ।
उत्खनन् गर्दा पानी भेटिएपछि पानी संरणको लागि गाउँपालिकाको बजे ५ लाख रुपैयाँबाट मुहान संरक्षण तथा खानेपानीको कुवा निर्माण गरिएको वडाअधयक्ष कार्कीले बताए ।
सो कुवामा खन्दा पानी भेटिएकोले अन्य पानी सुकेका मुहानहरुमा पनि यसै गरी उत्खनन् गर्ने हो भने पानीको मुहान भेटिने आशा पलाएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ बताउँछन् । यही सिकाईको आधारमा अब सुकेको पानीका मुहानहरु क्रमशः उत्खनन् गर्दै जाने उनले बताए ।