रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुम आगेटारमा रहेको विष्णु जनज्वती माध्यामिक विद्यालयले कृषि र पशुको प्राविधिक बिषयमा पठनपाठन सुरु गरेपछि विद्यार्थी र स्थानीय कृषकहरु समेतलाई कृषि सम्बन्धी आवश्यक ज्ञान र तालिम प्रदान गर्न सुरु गरेको छ ।विद्यालयले रामेछाप पोलीटेक्नीकल कलेज मन्थलीसंगको सहकार्यमा वेमौशमी तरकारीको वेर्ना उत्पादन तथा खेती सम्बन्धी तालिम संचालन गरिरहेको छ । तालिममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र स्थानीय कृषक गरी २० जनाको सहभागिता रहेको छ ।
तालिमकी प्रशिक्षक यसिमला मगरले गाउँघरमा नै मौशमी तथा वेमौशमी तरकारी उत्पादन गरी प्रयोग गर्न शिप प्रदान गर्न तालिम आयोजना गरिएको बताइन् । ६५ दिने सो तालिम ३ सय ९० घण्टा सञ्चालन हुने छ । तालिम पछि सिटिइभिटिबाट शिप परिक्षण गरि प्रमाणपत्र समेत प्रदान गरिने उनले बताइन् । वेमौशममा पनि घरमा नै तरकारी उत्पादन गरी हरियो तरकारी खाने वातावरण बनाउनको लागि तालिम लिएको तालिमका सहभागि महिलाहरुले बताए ।