रामेछाप । मानव अधिकार संरक्षण सन्जाल रामेछापले जिल्लामा संयन्त्र निमार्ण गरेर प्रभाबितको हातमा पुग्ने गरी राहत बितरण गर्न अपिल गरेको छ । सन्जालले जिल्लाका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि तथा उपकरणहरुको नियमित आपूर्ति गर्न , सबै खालका विरामीहरुको सहज उपचार र बालबालिकाको खोप सेवाको व्यवस्था मिलाउन समेत अपिल गरेको छ ।
अहिले लकडाउन लम्बीदै जाँदा खाद्यान्नको अभाव हुन सक्ने संभावना बढेकाले खाद्यन्नको उचित आपुर्ती र भण्डारणको व्यवस्था मिलाउन, प्रभावित मानिसहरुको हातमा मात्रै राहात पुग्नेगरी संयन्त्र निर्माण गरी सुरक्षित रुपमा राहात वितरण गर्ने व्यवस्था मिलाउन सन्जालले अपिल गरेको छ । निर्माण व्यवसायी र कम्पनी मार्फत विभिन्न निर्माण कम्पनीहरुमा काम गर्ने मजदुरहरु पैदल हिडेर घर जाने क्रम चलिरहेकाले उनीहरुमा पर्न सक्ने स्वास्थ्य सुरक्षालाई ध्यानमा उचित व्यवस्थापन वा घरसम्म पुग्ने वातावरण निर्माण गर्न सरोकारवाला निकायलाई अपिल गरिएको छ । सञ्जालका संयोजक पाण्डव प्रसाईले शुक्रबार एक अपिल सार्वजनिक गरी यस्तो अपिल गरेका हुन् ।
”मानवअधिकार संरक्षण सञ्जाल रामेछाप
अपिल
मिति : २०७७ बैशाख ५ गते
मानवअधिकार संरक्षण सञ्जाल रामेछाप रामेछाप जिल्लामा मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा क्रियाशिल विभिन्न संस्था तथा व्यक्तिहरु सम्मिलित साझा सञ्जाल हो । सञ्जालले जिल्लाको मानवअधिकार, सामाजिक न्याय तथा समसामयिक विषयमा बहस पैरवी सञ्चालन गर्नुका साथै मानवअधिकार संरक्षण तथा सामाजिक न्याय स्थापनाको लागि सरोकारवाला निकायसँग सहकार्य गर्दै आएको कुरा सबैमा अवगत नै छ ।
विश्वव्यापि महामारिको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको वर्तमान अवस्थामा रामेछाप जिल्लाबासी पनि गम्भिर जोखिमको खतरामा छौँ । रोगको रोकथाम र नियन्त्रणको लागि यो संकटको घडिमा अहोरात्र खटि रहने रामेछाप जिल्लाका स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, स्थानीय प्रशासन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी प्रति मानवअधिकार संरक्षण सञ्जाल हार्दिक सम्मान प्रकट गर्दछ । यो संकटको सामना गर्नका लागि संजाल संगै रहेको ब्यहोरा समेत अवगत गराउँदछ । संकटको यो घडिमा सञ्जालको तर्फबाट निम्न उल्लेखित विषयमा सरोकारवालाको ध्यानाकर्षण गराउँदछौँ
रोगको संक्रमण कुनै पनि बेला जिल्लामा देखिने कुरालाई मध्यनजर गरी औषधि उपकरण तथा स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्रि सहित तयारी अवस्थामा राख्न
जिल्लाका सबै स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि तथा उपकरणहरुको नियमित आपूर्ति र सबै खालका विरामीहरुको सहज उपचार र बालबालिकाको खोप सेवाको व्यवस्था मिलाउन
बन्दाबन्दि लम्बिदै जाँदा खाद्यान्हको अभाव हुन सक्ने अवस्था सिर्जना भएकोले खाद्यान्नको उचित आपुर्ति र भण्डारणको व्यवस्था मिलाउन
स्थानीय सरकार मार्फत वितरण गर्न लागिएको राहातका कार्यक्रम अतिप्रभावित मानिसहरुको हातमा मात्र पुग्ने गरि संयन्त्र निर्माण गरि सुरक्षित रुपमा वितरण गर्ने व्यवस्था मिलाउन
निर्माणय व्यवसायी र कम्पनि मार्फत विभिन्न निर्माण कम्पनिमा काम गर्ने मजदुरहरुलाई वेवास्ता गर्दा मजदुरहरु पैदल हिँडेर घर जाने क्रम चलि रहेको पाइएकोले उनीहरुमा पर्नसक्ने स्वास्थ्य सुरक्षलाई ध्यानमा राखि निर्माण व्यवसायी र कम्पनिलाई जिम्मेवार बनाउँदै उनीहरुको उचित व्यवस्थापन वा घरसम्म पुग्ने वातारण निर्माण गर्न
सानो लापरबाहीले पनि रोग महामारीको रुपमा फैलनसक्ने खतरा भएकोले आमनागरिलाई सरकारको आदेश पालना गरि संयमित र सुरक्षित रुपमा सामाजिक दुरी कायम गरि बस्न
बन्दाबन्दिको समयमा पनि मानवअधिकारको उचित संरक्षण र संवर्धन गर्न गराउन
पाण्डव प्रसाईँ
संयोजक ”