ताजा समाचार


रामेछापका एक कोरोना संक्रमितलाई थप उपचारको लागि पाटन अस्पताल पठाइयो

 नेपाल बाहक    २९ जेष्ठ २०७७, बिहीबार ०९:१७     349 जनाले पढ़िसके


रामेछाप । रामेछापका एक कोरोना संक्रमितलाई थप उपचारको लागि पाटन अस्पताल पठाइएको छ । जिल्ला अस्पताल रामेछापको आइसोलेशनमा उपचार गराइरहेका एक संक्रमितको स्वास्थ्यमा सुधार नआए पछि थप उपचारका लागि पाटन अस्पताल रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।
बिहिवार जिल्ला अस्पताल रामेछापले एक प्रेस विज्ञप्ति प्रकाशन गरी लिखुतामाकोशी गाउँपालिका वडा नं ७ का २६ वर्षका पुरुषलाई थप उपचारका लागि पाटन अस्पतालमा रिफर गरिएको जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डा. आनन्द प्रसाद आचार्यले प्रकाशन गरेको विज्ञप्तिमा जिल्ला अस्पतालको आइसोलेशनमा बसेका कोरोना संक्रमण पुष्टि भएका गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जना गरी १७ जना मध्ये लिखुतामाकोशी गाउँपालिका वडा नं ७ ठेगाना भएका २६ वर्षका पुरुषलाई आइसोलेशनमा आएकै दिनदेखी ज्वरो आएको र हालसम्म उपचार गर्दा समेत ज्वरो कम हुन नसकेपछि श्री पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान , पाटन अस्पतालमा रिफर गरी पठाइएको व्यहोरा जानकारी गराउदछौं भनिएको छ ।