रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाको विकास निर्माण तथा स्वास्थ्य अवस्थाको बारेमा जिल्ला स्तरीय अनुगमन तथा छलफल सम्पन्न भएको छ ।
जिल्ला विपत् व्यवस्थापन केन्द्र रामेछापको आयोजनामा भएको सो अनुगमन तथा छलफल कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला स्थित राजनीतिक दलका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
टोलीले पालिकाका विभिन्न विकास योजना तथा क्वारेन्टाइनको अवलोकन पछि गाउँपालिकामा छलफल कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले अहिले मान्छे बचाउने कुरानै पहिलो कुरा भएकोले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले क्वारेन्टाइन निर्माण गर्दा आधारभूत मापदण्डलाई ध्यान दिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले गाउपालिकामा भएका विकासका काम र स्वास्थ्यको तयारीको बारेमा जानकारी दिनुभएको थियो ।
उहाँले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखि गाउँपालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीयले पालिकामा भएका काम, सुशासनको अवस्था लगायतका बारेमा जानकारी दिनुभएको थियो । उहाँहरुले सुशासन प्रवर्धनका लागि पालिकाले अझ काम गर्नुपर्ने सुझाव दिनुभएको थियो ।