काठमाडौं । बाग्मती प्रदेशका सबै स्थानीय तहमा पुस्तकालाय स्थापनाको काम अघि बढाइने भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सो कुराको जानकारी दिनुभएको हो ।
राष्ट्रिय जागरण ल्याउनको लागि पुस्तकालयको स्थापना गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले पुस्तकालय स्थापना गरेर पठन संस्कृतिको विकास गरिने बताउनुभयो ।
काठमाडौं उपत्यका सार्वजनिक पुस्ताकालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले बाग्मती प्रदेशका ११९ वटै स्थानीय तहमा सार्वजनिक पुस्तकालय स्थापना गरिने बताउनुभयो ।
विभिन्न प्रविधिको विकासले नयाँ पुस्तामा किताब पढ्ने बानी हराएको उहाँले बताउनुभयो । किताब पढ्दाको मज्जा नै छुट्टै हुने भएकोले पठन संस्कृतिको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
इन्टरनेटको विकासले युवा पुस्ताको ध्यान त्यता गएकोले पुस्तकालयमा ई–लाइब्रेरीलाई पनि एकैसाथ जोडेर लैजानु पर्ने उहाँको भनाई छ । यस कार्यमा स्थानीय सरकारलाई प्रदेश सरकारले सहयोग गर्ने उहाँले बताउनुभयो ।
अहिले सबै स्थानीय तहलाई खेल मैदान, कवर्ड हल, क्लब घर चाहिए जस्तै उटा स्थानीय तहमा एउटा पुस्तकालय पनि आवश्यक रहेको उहाँले बताउनुभयो ।