ताजा समाचार


इलाका प्रहरी कार्यालय भवन निर्माणमा विरोध नगर्न खाँडादेवी गाउँपालिकाको आग्रह

 नेपाल बाहक    १७ श्रावण २०७७, शनिबार ०७:४१     487 जनाले पढ़िसके

रामेछाप । इलाका प्रहरी कार्यालय चोप्राङको भवन निर्माणस्थलको विवाद नगर्न रामेछापको खाँडादेवी गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाले एक विज्ञप्ति प्रकाशित गरी सो आग्रह गरेको हो ।

इलाका प्रहरी कार्यालयलाई जग्गा दिएका जग्गादाता नाराणय कार्कीले आफूले जग्गा दिएकै स्थानमा इलाका प्रहरी कार्यालयको भवन बनाउनुपर्ने बताउदै आउनु भएको छ । गाउँपालिकाले भने सो जग्गा गाउँपालिका कार्यालय क्षेत्र भन्दा टाढा भएकोले प्रहरी कार्यालय बनाउन उपयुक्त नभएको जनाएको छ ।

जग्गा दाता नारायण कार्कीले काठमाडौंमा पत्रकार सम्मेलन नै गरी गाउँपालिकाले राजनीतिक पूर्वाग्रह राखी आफूले दान गरेको जग्गामा प्रहरी कार्यालय भवन बनाउन नदिएको बताउनुभएको छ । तर, गाउँपालिकाले भने सो जग्गा कुनै पनि हिसाबले प्रहरी कार्यालय बनाउन उपयुक्त नभएकोले यसमा विवाद गर्न नहुने बताएको छ ।

गाउँपालिकाले एक विज्ञप्ति प्रकाशित गरी इलाका प्रहरी कार्यालय चोप्राङको नाममा सो ठाउँमा मात्र हैन गाउँपालिका भन्दा पाँच किलोमिटर पर चोप्राङमा समेत सात रोपनी जग्गा रहेको जनाएको छ । दुवै ठाउँ गाउँपालिका र गाउँपालिकामा रहने कार्यालयलाई सुरक्षा दिने हिसाबले टाढा भएकाले उपयुक्त नभएको कार्यालयले जनाएको छ । ती जग्गाहरु प्रहरीले अन्य काममा प्रयोग गर्न सक्ने भए पनि कार्यालय भवन निर्माणका लागि उपयुक्त नभएको गाउँपालिकाले जनाएको छ ।

सो गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालयलाई अहिले गाउँपालिकाले पालिकाको कार्यालय छेउमा अस्थाई भवन निर्माण गरी व्यवस्थापन गरेको छ । गाउँपालिकाकै आसपासको क्षेत्रमा स्थायी भवन निर्माणको लागि काम थालिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ्ले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय भवन निर्माणको लागि प्रदेशबाट रकम आउँदा समेत गाउँपालिकाले भवन बताउन रोकेको जग्गादाताको अरोप छ । तर गाउँपालिकाले भने गाउँपालिका कार्यालय आसपासमा नै प्रहरी कार्यालय भवन निर्माणको लागि अनुरोध गरेपछि भवन निर्माणकार्य हाललाई स्थगित भएको र अब गाउँपालिका कार्यालय नजिकै निर्माणकार्य अघि बढ्ने जनाएको छ ।