रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले पार्टीको विवाद समाधान गरी थप सुदृढ बनाएर अगाडि बढनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी एकताको विकल्प नभएको पनि बताउनुभयो ।
रामेछापको खाँडादेवीमा भइरहेको विकास निर्माण कामका बारेमा आयोजना गरिएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । पार्टी विभाजन र देशलाई डुब्नबाट जोगाउन नेताले त्याग गर्नुपर्ने उहाँले बताउनुभयो ।
‘जनताको चाहना नेकपा एक भएर आघि बढोस् भन्ने छ,, यसमा नेता जिम्मेवार हुनुपर्छ’, ढुंगेलले भन्नुभयो । यसमा शीर्ष नेतृत्वको महत्वपूर्ण जिम्मेवारी भएको उहाँले बताउनुभयो ।
केपी ओली नेतृत्वको वर्तमान सरकारले ऐतिहासिक काम गरेको पनि उहाँले दावी गर्नुभयो । भारतले सरकारको विरोध गरिरहेको अवस्थामा पार्टीभित्रबाटै सरकारको विरोध हुनु गलत भएको उहाँले बताउनुभयो । ‘बाख्रो हराउनु र स्याल कराउनु एकपटक भएको छ’, उहाँले भन्नुभयो ।
नेकपाको विवादले प्राप्त उपलब्धिनै गुम्ने खतरा रहेको समेत ढुंगेलले बताउनुभयो । पार्टीको आन्तरिक विवाद तत्काल हल गरी एकताबद्ध भएर अगाडि बढे मात्र अहिलेको प्राप्त उपलब्धि रक्षा गर्न सकिने उहाँले बताउनुभयो ।
ढुंगेलले पञ्चायतको ३० वर्ष र बहुदल आएपछि पनि विकास निर्माणमा पछि परेको रामेछाप अहिले तीब्र विकासको गतिमा अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ भिरपानीका वडा अध्यक्ष पुष्करकुमार कार्की लगायतले खाँडादेवी र भिरपानीमा भइरहेको विकास गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।