ताजा समाचार


“अधिवेशनले मात्र अध्यक्ष फेर्न सक्छ , अहिले नै राजिनामा माग्नु बेसिजनमको बाजा ” मन्त्री ढुगेल

 नेपाल बाहक    २५ श्रावण २०७७, आईतवार १३:०७     292 जनाले पढ़िसके

रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलशप्रसाद ढुंगेलले नेकपा कुनै पनि हालतमा नफुट्ने बताउनुभएको छ ।

आइतबार रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरिएको पार्टीबाट निर्वाचित जनप्रतिनिधि तथा नेतासँगको छलफलमा बोल्दै उहाँले जुट्दा हाँसेको र फुट्दा रोएको सबै नेताले भोगेकाले पार्टी फुटिहाल्छ कि भन्ने पीर नलिन आग्रह गर्नुभयो ।

मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टीमा अहिले विधि र विचारमा कुनै समस्या नरहेको बताउनुभयो । अहिले एउटै लडाईँ प्रधानमन्त्री छाड्दिनु पर्यो भन्ने भएको उहाँले बताउनुभयो ।

पार्टी विधिबाट चलेको बताउँदै अहिलेका अध्यक्ष विधिबाटै आएको उहाँले बताउनुभयो । अरुलाई विधिबाट चल्न सिकाउनेले आफू पनि विधिमा चल्नु पर्ने उहाँको भनाइ छ । पाटीको अधिवेशनले मात्र अध्यक्ष फेर्न सक्ने भएकोले वेसिजनमा अध्यक्षको राजिनामा माग्नु नै विधि विरुद्धको कुरा भएको उहाँले बताउनुभयो ।

हिजो पार्टी एकता गर्दा आफ्ना ४० प्रतिशत मात्र सदस्य भएकोले आफूलाई पेलेर लैजान्छन् कि भन्ने डरले प्रचण्डले पार्टी एकता गर्दा दुई अध्यक्ष बीचको सहमतिबाट पार्टी चलाउने कुरा लेख्न लगाएको ढुंगेलको दावी छ । अहिले स्थायी कमिटीमा अलिकति कोल्टे फेर्ने बित्तिकै प्रचण्डले अर्का अध्यक्षको राजिनामा मागेको उहाँले बताउनुभयो । जतिसक्दो चाँडो माहाधिवेशन गरेर नेतृत्व चयन गर्नुपर्ने उहाँको धारणा छ ।

केपी ओलीका अनगिन्ति गल्ति भए पनि यो समय केपी ओलीको राजिनामा माग्ने बेला नभएको उहाँले बताउनुभयो । अहिले ओलीको राजिनामा माग्नु भनेको भारतसँग उठ्नै नसक्ने गरी शिर निहुर्याउनु भएको उहाँले बताउनुभयो । बरु यो केही मत्थर भएपछि मंसिरमै अधिवेशन गरेर छिनोफानो गर्न सकिने उहाँले बताउनुभयो ।

अहिलेको अवस्थामा केपी ओलीले कुनै पनि हालतमा राजिनामा नदिने उहाँले प्रष्ट पार्नुभयो । केपी ओलीले राजिनामा नदिए वापत केही नहुने उहाँले बताउनुभयो । बादल र टोपबहादुर जस्ता नेता समेत यो सरकारलाई बचाउनुपर्छ भनेर लागेको उहाँले स्मरण गराउनुभयो ।

अहिलेको समस्याको हल केन्द्रीय कमिटी बैठकले गर्न नसक्ने उहाँले बताउनुभयो । सचिवालय बैठक वा स्थायी कमिटी बैठकले एजेण्डा बनाएपछि मात्र केन्द्रीय कमिटीमा जानु पर्ने उहाँको राय छ ।

तलदेखि माथिसम्मको नेकपाको सरकारले धेरै काम गरेको उहाँले स्मरण गराउनुभयो । आफ्नो पार्टीको सरकारले गरेको जस पनि लिन नसक्नु दुर्भाग्य भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष एवं नेकपा केन्द्रीय सदस्य माधव ढुंगेलले अहिले पार्टी र सरकारको विरोध गर्ने समय नभएको बताउनुभयो । पार्टी, सरकार देशको समृद्धिमा लाग्नु पर्ने उहाँको भनाइ छ ।