ताजा समाचार


रामेछापमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको सेवा केन्द्र स्थापना

 नेपाल बाहक    २६ श्रावण २०७७, सोमबार १३:०६     975 जनाले पढ़िसके

रामेछाप । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्क्युन० ले सोमबारबाट रामेछापको मन्थलीमा सेवा केन्द्र कार्यालय स्थापना गरेको छ । कार्यालयको बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले उद्घाटन गर्नुभयो ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री ढुंगेलले देशमा स्थिरता कायम भएकोले सहकारी मुभमेन्ट पनि अघि बढ्ने बताउनुभयो । ढुंगेलले सहकारीको लगानी कृषि, पशुपालन र घरेलु उद्योगकको क्षेत्रमा गर्न आग्रह गर्नुभयो । अनुत्पादक क्षेत्रमा सहकारीको लगानी बन्द गर्न उहाँले आह्वान गर्नुभयो । स्थानीय स्रोत र साधनमा आधारित उद्योग र उत्पादनमा लगानी गर्न उहाँले सहकारी र निजी उद्यमीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले विकासमा सरकार, सहकारी र निजी क्षेत्रको तीन खम्बे नीति लिएको भएपनि सहकारी क्षेत्रलाई मूल धारमा ल्याउन नसकिएको बताउनुभयो ।

कार्यक्रममा संघका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशका सचिव जिवस खड्काले सहकारीलाई अभियानको रुपमा अघि बढाउन सके धेरै काम गर्न सकिने बताउनुभयो ।

उद्घाटन कार्यक्रम रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव घिमिरे, जिल्ला बचत तथा ऋण सहकारी संघ रामेछापका अध्यक्ष जगन्नाथ दाहाल, नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेल लगायतले बोल्नुभएको थियो ।