ताजा समाचार


रामेछापको बिटारामा निर्माण भएको पार्क उपभोक्तालाई हस्तान्तरण 

 नेपाल बाहक    २८ श्रावण २०७७, बुधबार १२:५७     420 जनाले पढ़िसके

रामेछाप । रामेछाप नगरपालिका–८ बिटारमा रामेछाप सहयोगी मन नामको युवा समूहले विभिन्न क्षेत्रबाट सहयोग जुटाएर निर्माण गरेको पार्क बुधबार स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएको छ ।  यस अघि वन  कार्यालय रामेछापसँगको सहकार्यमा स्थानीय सामुदायीक वन उपभोक्ता समितिले तयार पारेको संरचनालाई रामेछापका युवाले सिँगारेका छन् । पार्कमा रामेछाप नगरपालिकाले घेराबाराको काम गरिदिएको छ । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बुधबार पार्कको चावी स्थानीय  उपभोक्तालाई हस्तान्तरण गर्नुभयो ।

चावी हस्तान्तरण गर्दै मन्त्री ढुंगेलले सहयोग संकलन गरेर युवाले गरेको रचनात्मक कामको प्रशंसा गर्नुभयो । वर्तमान सरकारले विकासमा फड्को मारेको बताउँदै उहाँले अब पैसा छैन विकास गर्न पाइएन भन्ने दिन गएको बताउनुभयो । राम्रो काम गर्नेलाई अब सरकारले जत्ति पनि पैसा दिनसक्ने उहाँले बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले काम गर्नेलाई तीनवटै तहका सरकारले सहयोग गर्ने बताउनुभयो । मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले पार्कमा पुर्वाधार विकासको लागि नगरपालिकाको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले रचनात्मक सोच राख्दा हातमा पैसा नहुँदा पनि धेरै कुरा गर्न सकिने उदाहरण युवाले देखाएको बताउनुभयो ।