ताजा समाचार


लिखुतामाकोसि गाउँपालिका अध्यक्ष खड्का पक्राउ

 नेपाल बाहक    ३० श्रावण २०७७, शुक्रबार १३:२०     720 जनाले पढ़िसके

रामेछाप । उपभोक्ता समितिका अध्यक्षलाई बन्धक बनाई खाली चेकमा हस्ताक्षर गराउन खोज्ने रामेछापको लिखुतामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

गाउँपालिका अध्यक्ष खड्काले धोबीबजार सडक ग्रावेल तथा नाला निर्माण योजना उपभोक्ता समितिका अध्यक्ष लिखुतामाकोसी गाउँपालिका–५ का दर्पण घिसिङलाई बन्धक बनाई जवरजस्ती खाली चेकमा सही गराउन खोजेका आरोप लागेको छ ।

उनीसँगै सो कार्यमा संलग्न लिखुतामाकोसी गाउँपालिका–५ का लालबहादुर तामाङलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी बसन्त पाठकले जानकारी दिनुभयो । दुवैजना विरुद्ध शरीर बन्धक सम्बन्धि कसुरमा प्रहरीमा जाहेरी दर्ता भएको उहाँले बताउनुभयो ।

जाहेरीवाला घिसिङका अनुसार गएको साउन २१ गते साँझ ५ बजे गाउँपालिका कार्यालयमा बोलाई अध्यक्ष लगायतका व्यक्तिले कोठामा थुनी उपभोक्ता समितिको खाली चेकमा सही गराउन दवाव दिएका थिए । अध्यक्ष लगायतले चेकमा हस्ताक्षर गर्न दवाव दिई बारम्बार धम्याएको उहाँले बताउनुभयो । तथापि आफू ढोकाको चुकुल खोली भाग्न सफल भएको घिसिङको भनाइ छ ।

गाउँपालिका अध्यक्ष विरुद्ध शरीर बन्धक कसुरमा जाहेरी दर्ता भएपछि ठगीको मुद्दा पनि प्रहरीमा आएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापमा अध्यक्षको विरुद्ध ठगीको उजुरी पनि आएको डीएपी पाठकले बताउनुभयो ।

अध्यक्ष खड्काले सोही गाउँपालिका–५ का ७७ वर्षीय शेरबहादुर खड्काको जग्गा ठगी गरेको आरोप लागेको छ । अध्यक्षले २ करोड रुपैँयामा गाउँपालिकालाई जग्गा खरिद गर्ने भनि गएको मंसिर ९ गते खड्काको जग्गा आफ्नै साली सुनिता गुरुङको नाममा पास गराएर एक पैसा पनि नदिएको भनि पीडितले प्रहरीमा जाहेरी दिएका छन् ।