रामेछाप । रामेछापमा यस वर्षको माघे सङ्क्रान्ति पर्वमा बाहिरबाट करिब चार लाख रुपियाँ बराबरको तरुल भित्रिएको छ । यस वर्षको माघे संक्रान्ति पर्वमा करिब तीन लाख ९० हजार रुपियाँ बराबरको चार टन तरुल बाहिरी जिल्लाबाट भित्रिएको कृषि ज्ञान केन्द्र रामेछापका प्राविधिक छैठौँ स्तरका अधिकृत ऋषिप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको तुलनामा यस वर्ष तराईका जिल्लाबाट धेरै तरुल भित्रिएको हो । तराईको पनि बर्दिबासबाट धेरै तरुल आयात भएको प्राविधिक सुवेदीले बताउनुभयो । माघे पर्वलाई लक्षित गरी व्यापारीहरुले तीन टन तरुल, एक टन सिमल तरुल गरी जम्मा ४ टन तरुल बाह्य जिल्लाबाट भित्र्याएका छन् । तराईबाट आयात भएको तरुल प्रति केजी ८० रुपियाँमा र स्थानीय स्तरमा उत्पादन तरुल प्रति केजी एक सय ६० रुपियाँमा विक्री गरिएको व्यापारीहरुले बताएका छन् । व्यापारीहरुका अनुसार सिमल तरुल प्रति केजी एक सय पँचास रुपियाका दरले विक्री गरिएको छ । जिल्लामा अहिले २ टन मात्रै तरुल उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । केन्द्रका अनुसार जिल्लामा यस वर्षको माघे संक्रान्तिमा करिब ६ टन बराबरको तरुल खपत भएको छ । गत वर्षको तुलनमा तरुलको मूल्य यस वर्ष निकै कम रहेको पाइएको छ । गत वर्ष पहाडी जिल्लामा उत्पादित तरुल दुई सय पँचास रुपियाँमा विक्री गरेका थिए भने यस वर्ष पहाडी जिल्लामा उत्पादन हुने तरुल एक सय साठी रुपियाँमै विक्री गरेका छन् । जिल्लामा यव वर्ष सात लाख दश हजार रुपियाँ बराबरको तरुल खपत भएको केन्द्रले जानकारी दिएको छ ।