ताजा समाचार


कोरोना खोपको लागि रामेछापबाट एक हजार भन्दा बढिको नाम सिफारिस

 नेपाल बाहक    १२ माघ २०७७, सोमबार १९:२३     231 जनाले पढ़िसके

रामेछाप । रामेछापका एक हजार तीनसयभन्दा बढीलाई कोरोना विरुद्धको पहिलो चरणको खोप लगाइदै छ । दुई नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वटा वडा रहेको जिल्लाबाट एक हजार ३७६ जनालाई खोप लगाउन उनीहरुको नामावली पठाइएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वाथ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार जिल्लाभरबाट ५५४ जना सरकारी सेवामा खटिएका स्वास्थ्यकर्मी,७० जना प्राभेट स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र ७५२ जना महिला स्वास्थ्य स्वयमसेविकाको नामावली पठाइएको छ । त्यसैगरी ३५ जना एम्बुलेन्सका चालक ,४५ जना तीनवटै निकायका सुरक्षाकर्मी , रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको फोहोर व्यवस्थापनमा खटिएका २१ जना सरसफाईकर्मीको नाम पठाइएको उहाँको भनाई छ । कोरोना विरुद्धको खोप लगाउनका लागि जिल्लामा एउटामात्रै खोप केन्द्र व्यवस्थापन गर्न केन्द्रले निर्देशन दिएपनि एकमात्रै केन्द्रबाट खोप लगाउन सम्भव नहुने भएकाले जिल्लाभर चारवटा खोप केन्द्र माग गरिएको जनस्वास्थ्य अधिकृत थापाको भनाई छ । उहाँका अनुसार उमाकुण्ड गाउँपालिकाको बाम्ती प्राथमिक अस्पताल, मन्थली नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र , स्वास्थ्य कार्यालय रामेछाप र दोरम्बा गाउँपालिकाको दोरम्बा प्राथमिक अस्पताललाई खोप बनाउन माग गरिएको छ । उहाँले प्रत्येक खोप केन्द्रमा व्यवस्थित तरवले खोप लगाउनका लागि भ्याक्सिनेशन फोकल पर्सन एकजना,एइएफआई फोकल पर्सन एकजना गरी जम्मा दुईजना स्वास्थ्यकर्मी खटाइने छ । सवै खोपकेन्द्रमा भ्याक्सिनेशन फोकल पर्सनले खोप लगाउन आउनेहरुलाई आवश्यक परामर्श र व्यवस्थापन मिलाउनेछ भने एइएफआई फोकल पर्सनले खोप प्रयोपछि हुनसक्ने स्वास्थ्य समस्याको निगरानी तथा उपचार गर्नेछ । सरकारले माघ १४ गते ७७ वटै जिल्लाको १ सय २० खोप केन्द्र र ६२ वटा अस्पतालवाट कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु गर्दै छ । पहिलो चरणमा अग्रपंक्तिमा खटिएका चिकित्सक, सरसफाईकर्मी, स्वास्थ्य स्वयंसेविका, शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरूलाई खोप लगाइदै छ । पहिलो चरणमा ४ लाख ३० हजार जनसंख्यालाई खोप दिने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छ । माघ १८ गते भित्र ३ सय खोप केन्द्रवाट खोप लगाउन शुरु गरी १० दिन भित्र सक्ने मन्त्रालयले जनाएको हो ।