रामेछाप । फ्रन्टलाईनमा काम गर्ने रामेछापका १४ सय ७७ जनालाई माघ १४ गते कोरोना बिरुद्धको भ्यासिन लगाइने भएको छ । स्वास्थ्य कार्यलय रामेछापका जनस्वास्थ्य निरिक्षक भुवन थापाका अनुसार जिल्ला रहेर अग्रपन्तीमा बसेर काम गर्ने एक हजार ४७७ जनालाई पहिलो चरणमा भ्यासिन लगाइने भएको हो । थापका अनुसार पहिलो चरणमा ५५४ जना सरकारी सेवामा खटिएका स्वास्थ्यकर्मी, ७० जना प्राभेट स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र ७५२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई खोप लगाइदै छ । त्यसैगरी ३५ जना एम्बुलेन्स चालक, ४५ जना तीनवटै निकायका सुरक्षाकर्मी, रामेछाप नगरपालिका र मन्थली नगरपालिकाको फोहोर व्यवस्थापनमा खटिएका २१ जना सरसफाईकर्मीलाई खोप लगाइदै छ ।
पहिलो चरण अन्तर्गत जिल्लामा अहिले आएको खोपले १५ सय ९० जनालाई पुग्ने जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । कोरोना विरुद्धको खोप केन्द्रको रुपमा स्वास्थ्य कार्यालय रामेछाप मात्रै तोकिएको छ । कोरोना विरुद्धको खोप प्रयोगका लागि नामावली पठाएका सबै जनालाई त्यहीबाट खोप लगाइने जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । यसअघि स्वास्थ्य कर्यालयले जिल्लाभर चारवटा खोप केन्द्र माग गरेको भएपनि केन्द्रले एउटा मात्र खोप केन्द्र सञ्चालन गर्न निर्देशन दिएको उहाँले बताउनु भएको छ । स्वास्थ्य कार्यालय रामेछापले कोरोना विरुद्धको खोप प्रयोगको लागि सम्पूर्ण तयारी पूरा गरेको छ । खोपकेन्द्रमा भ्याक्सिनेशन फोकल पर्सनले खोप लगाउन आउनेहरुलाई आवश्यक परामर्श र व्यवस्थापन मिलाउनेछ भने एइएफआई फोकल पर्सनले खोप प्रयोपछि हुनसक्ने स्वास्थ्य समस्याको निगरानी तथा उपचार गर्नेछ ।