रामेछाप । गत पौष २५ गते छिमेकिको कुटाईबाट ज्यान गुमाएका मेरमानको परिबारलाई गोकुलगंगा गाउँपालिकाले सहयोग गरेको छ । गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले मृतक मेरमानकी श्रीमती पम्फादेवी विकलाई नगद दश हजार रुपियाँसहित तीन बोरा चामल, पाँच किलो दाल, पाँच किलो नुन, एक थान सिरक र दुई थान त्रिपाल सहयोग गर्नुभएको हो ।
अर्काको जमिनमा आश्रय लिएर भूकम्पको राहत स्वरुप आएको पैसाबाट घर बनाएर जसोतसो गुजारा चलाउँदै आएका मेरमानको छिमेकीको कुटाइबाट ज्यान गएसँगै विकको परिवारको दैनिकी झन–झन कठिन बन्दै गएपछि पालिकाको तर्फबाट आफूहरुले थोरै भएपनि सहयोग गरेको गाउँपालिका अध्यक्ष सुनुवारले बताउनुभयो । स्थानीय साङतेन्जी शेर्पाको कुटाईबाट गम्भिर घाइते हुनुभएका मेरमानको उपचारको क्रममा टिचिङ अस्पतालमा ज्यान गएको थियो ।