ताजा समाचार


लिखु तामाकोसी गाउँपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वञ्चित

 नेपाल बाहक    १९ फाल्गुन २०७७, बुधबार १९:३०     308 जनाले पढ़िसके


रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकाका नागरिक प्रधानमन्त्री रोजगार कार्यक्रमबाट वञ्चित भएका छन् । पालिकाको हाल सम्म पनि रोजगार संयोजक नियुक्ति नगर्दा लिखु तामाकोसी गाउँपालिकाका नागरिक नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम बाट वञ्चित भएका हुन् ।
रोजगार संयोजक नियुक्ति नहुँदा गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाभित्र बेरोजगारहरूको सूची सङ्कलन समेत गर्न सकेको छैन । पालिकाभित्रका बेरोजगार नागरिकहरू नेपाल सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै वञ्चित भइरहेका छन् ।
नेपालको संविधान २०७२ को भाग तीनको मौलिक हक अन्तर्गत धारा ३३ मा रोजगारीको हक सम्बन्धी व्यवस्था छ । उपधारामा १ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ र उपधारा दुईमा प्रत्येक नागरिकले रोजगारी छनौट गर्न पाउने हक समेत हुनेछ, भनिएको छ ।
तर, लिखुतामाकोसी गाउँपालिकाको ढिलासुस्ती, गैरजिम्मेवारीपनका कारण त्यहाँका नागरिकहरू भने सरकारले बेरोजगारहरूलाई लक्षित गरी ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाटै पटक–पटक वञ्चित हुँदै आएका छन् ।