रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकामा आगोलागि हुदाँ दुई घर जलेर नष्ट भएको छन् । आगोलागिमा करिब २० लाख रुपियाँ बराबरको क्षति भएको रामेछाप प्रहरीले जनाएको छ । आगलागीबाट दोरम्बा गाउँपालिका वडा नं. २ ओख्रेनीका डिक बहादुर नेपाली, तुलसी नेपाली र सन्तमाया नेपालीको जस्तापाताले छाएको दुई तले कच्ची घर जलेर नष्ट हुँदा १९ लाख ७० हजार रुपियाँ बराबरको क्षति भएको रामेछापका प्रहरी प्रबक्ता श्रीशंकर श्रेष्ठले बताउनु भयो ।
उहाँका अनुसार तुलसी र सन्तमायाको घरको चुलोबाट सुरु भएको आगो लाग्न सुरु भएको हो । तुलसी र सन्तमाया सासु बुहारी हुन् । अंशवण्डा गरेर भिन्न भइसकेको भएपनि उनीहरु एउटै घरको छुट्टाछुट्टै कोठामा बस्दै आएका थिए । आगलागीबाट सन्तमायाको नगद ६० हजार रुपियाँ र करिब ११ लाख २० हजार रुपियाँ बराबरको लत्ताकपडा, भाँडाबर्तन, अन्नपात क्षति भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्ररही निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बुहारी तुलसी नेपालीको नगद ५० हजार रुपियाँ र एक लाख ५० हजार रुपियाँ बराबरको लत्ताकपडा, भाँडाबर्तन, अन्नपात जलेर नष्ट भएको छ ।
यसैगरी, आगलागीबाट डिक बहादु नेपालीको नगद दश हजार रुपियाँ र पाँच लाख ८० हजार रुपियाँ बराबरको लत्तकपडा, भाँडावर्तन, अन्नपात लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय र चौपायमा भने कुनै क्षति नपुगेको उहाँले बताउनुभयो ।
शुक्रबार बिहान करिब साँढे ४ बजेदेखि सुरु भएको आगो प्रहरी चौकी दोरम्बाबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको २ जनाको प्रहरी टोली, नयाँ गोरख गण सुरक्षा गुल्म दोरम्बाबाट जमदारको कमाण्डमा खटिएको १५ जनाको सैन्य टोली र स्थानीयको संयुक्त प्रयासपछि डेढ घण्टाको अवधिमा पूण रुपमा नियन्त्रणमा थियो ।