ताजा समाचार


नाबालकमाथि निर्घात कुटपिट गरेको आरोपमा ११ जनाको समूह पक्राउ

 नेपाल बाहक    १३ बैशाख २०७८, सोमबार १८:३९     315 जनाले पढ़िसके

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा आतङ्क मच्चाउँदै झैझगडा गरेर हिँड्ने ११ जनाको समूहलाई नाबालकमाथि निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । लिखुतामाकोशी गाउँपालिका वडा नं। ५ नागदहका एक नाबालकलाई निर्घात कुटपिट गर्ने सोही वडाका २३ वर्षीय आइमान तामाङ, २२ वर्षीय पेम्बा तामाङ र १७ वर्षीय अजय तामाङसहित ११ जनाको समूहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

लिखुतामाकोशी गाउँपालिका नागदहको चाखर्कमा सार्वजनिक सडकमा शनिवार राति १० बजे विवाह घरबाट आफ्नो घरतर्फ फर्कँदै गरेका पीडित नाबालकसहित तीन जनालाई घेरा हाली यो गाउँको मान्छेलाई हान्नुपर्छ भन्दै लाठीले हान्दा ज्यान बचाई दुई जना हाम फालेर भागेपछि नाबालकमाथि निर्घात कुटपिट गर्ने समूहलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो ।

कुटपिटबाट गम्भीर घाइते भएका नाबालकको काठमाडौँस्थित ओम अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो । यसअघि पनि उनीहरूले समूह बनाएर गाउँमा उद्दण्डता देखाउँदै आपराधिक गतिविधि, झैझगडा, कुटपिट गर्ने र आतङ्क मच्चाउँदै हिँड्ने गरेको खुलासा भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । पक्राउ परेका ११ जनाको समूहलाई अहिले जिल्ला प्रहरी कार्यालय रामेछापको प्रहरी हिरासतमा राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।