रामेछाप । कोभिड सङ्कट व्यवस्थापन केन्द्र रामेछापले रामेछापमा पनि लकडाउन गर्ने निर्णय गरेको छ । आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले मन्थली नगरपालिका वडा नं १ को मन्थली बजार क्षेत्र र वडा नं। २ को करम्बोट बजार ,मन्थली नगरपालिका वडा नं।३ ठुलीमदौँ, वडा नं। ६ कुनौरी र सेलेघाट, वडा नं। ७ को मुगिटार, वडा नं। ८ को गाइखुरा क्षेत्रमा यही वैशाख २० गते सोमबार राति १२ः०० बजेदेखि २७ गते राति १२ः०० बजेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरेको हो ।
यसैगरी, बैठकले मन्थली नगरपालिका वडा नं। १३ को देवीटार र वडा नं। १४ को पोखरी बजार क्षेत्र र गोकुलगङ्गा गाउँपालिका वडा नं। १, ४ र ५ क्षेत्रमा पनि निषेधाज्ञा गर्ने बैठकले निर्णय गरेको छ । निषेधाज्ञा अवधिभर अत्यावश्यक काम बाहेक घरबाहिर निस्कन, हिडडुल गर्न पूणर् रुपमा रोक लगाइने छ ।
बैठकमा एम्बुलेन्स, दमकल, शववाहन, खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरु सन्चालन गर्न दिने निर्णय गरेको छ ।
खाद्यान्न सामाग्री तथा पशुपञ्छीका दाना, फलफूल तथा तरकारी, दूध, डेरीजन्य उत्पादन, माछा, मासु, पानी र ग्यास लगायतका अत्यावश्कीय पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूणर् पालना गरी बिहान ६ः००बजेदेखि ९ः०० बजेसम्म र साँझा ५ः०० बजेदेखि ७ः०० बजेसम्म सञ्चालन गर्न पाइनेछ । बैठकले बैङ्क तथा वित्तीय संस्थाहरुले अत्यावश्यक सेवाहरु मात्र स्वास्थ्य सुरक्षाका मापदण्ड पूणर् रुपमा पालन गर्ने गरी न्यूनतम कर्मचारीबाट सेवा प्रवाहको व्यवस्था मिलाउने, अत्यावश्क कार्यमा जिल्लाको प्रवेश नाकाहरुबाट प्रेवश गर्ने जिल्लाभित्रका नागरिकहरुलाई सम्बन्धित पालिका तथा वडाको क्वारेन्टीन तथा आइसोलेसनमा राख्ने सुनिश्चितता सहितको सिफारिस भएकोलाई बाहेक जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरिएको छ ।