ताजा समाचार

अनलाइन कक्षा प्रभावकारी नभएको नागरिक समाजको ठहर

 नेपाल बाहक    २० आश्विन २०७८, बुधबार १८:४६     20 जनाले पढ़िसके

रामेछाप । मानव अधिकार संरक्षण सञ्जाल रामेछापका सदस्यले अनलाइन कक्षा प्रभावकारी नभएको बताएका छन् ।
बुधवार मन्थलीमा मानव अधिकार संरक्षण सञ्जाल रामेछापको समन्वय र इन्सेकको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन् । उनीहरूले अनलाइन कक्षा प्रभावकारी बन्न नसकेको बताउँदै अनलाइन कक्षाले विकृति निम्ताएको बताए ।
कोरोना सङ्क्रमणको बेला अनलाइन कक्षा सञ्चालन गर्दा बालबालिका मोबाइल तथा ल्यापटपमा केन्द्रित भएका र यसले मानसिक रूपमा नै असर गरेको मानवअधिकार संरक्षण सञ्जालका सदस्य तथा अधिवक्ता बाबुकाजी दाहालले बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा रेडक्रस रामेछापका सभापति धिवक्ता शिव कार्कीले कोरोनाले साना बालबालिकाको पढाइ शून्य भएको बताउनुभयो । उहाँले अनलाइन कक्षा खासै प्रभावकारी नभएको गुनासो गर्नु भयो ।
कार्यक्रममा बोल्दै मन्थली नगपालिका शिक्षा शाखाका प्रमुख हेमन्त बुढाथोकीले कोरोनाले विद्यार्थीको पढाइको स्तर खस्केको बताउँदै यसको लागि नगरपालिका योजना बनाएर लाग्ने बताउनु भयो । उहाँ विद्यार्थीको शैक्षिक स्तर सुधारको लागि स्वास्थ्य तथा सुरक्षाका मापदण्ड प्रयोग गरेर भौतिक उपस्थितिमै पठन पाठन सुरु गरिएको बताउनु भयो ।
बुढाथोकीले दसैँ बिदा लगायत अन्य बिदालाई पनि कम गरेर विद्यालय सञ्चालन गरिने योजना रहेको बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा रामेछाप बारमा अध्यक्ष बिचारसिंह तामाङ, गैरसरकारी संस्था महासङ्घ रामेछापका उपाध्यक्ष रत्न प्रसाद कडेंल, मानव अधिकारी संरक्षण सञ्जालको सदस्य, कानुन व्यवसायी, पत्रकार लगायतले शिक्षाको अधिकारको बारेमा धारणा राख्नु भएको थियो ।
कार्यक्रम मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाद प्रसाईँको अध्यक्षतामा भएको हो ।